मोरङको ग्रामथानमा माओवादीका माझी र दैलेखको महाबुमा एमालेका शाही विजयी

तु खबर संवाददाता
२०८१ मंसिर १७,सोमबार ०८:५७
तस्वीरः नमोनारायण माझी/जंगबहादुर शाही

काठमाडौँ । स्थानीय तह उपनिर्वाचन अन्तरगत मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नमोनारायण माझी विजयी भएका छन् भने दैलेखको महाबुमा नेकपा एमालेका जंगबहादुर शाहीले जित निकालेका छन् ।

ग्रामथानमा माझीले ६ हजार ९६९ मतका साथ कांग्रेसका बलराम सरदार थारुलाई पराजित गरेका हुन् । थारुले ५ हजार ३३३ मत ल्याएर दोस्रो भए । यहाँ एमालेका तुलसीराम विश्वासले ४ हजार १५९ मत ल्याएका छन् ।

यस्तै राप्रपाका दिनेशकुमार थन्दारले ५५५ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका नवीनकुमार विश्वास खवासले ३७५ मत पाए ।

ग्रामथानमा यसअघि २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका जयप्रकाश गच्छदार थारु विजयी भएका थिए ।

त्यस्तै दैलेखको महाबुमा शाही ३ हजार १२७ मत ल्याउँदै विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका झलक बहादुर भण्डारीले २ हजार ६७५ मत ल्याए । त्यस्तै, नेकपा माओवादी केन्द्रका जंगबहादुर बराल मगरले ८४२ मत प्राप्त गरे ।

यहाँ २०७९ सालको निर्वाचनमा कांग्रेसका लछुमन गुरुङ २ हजार ९७९ मत पाएर विजयी भएका थिए ।