हेटौंडा सिमेन्ट पुषको पहिलो साताबाट पुनः उत्पादन गर्ने तयारी
हेटौंडा । हेटौंडा सिमेन्ट पुषको पहिलो साताबाट पुनः उत्पादन गर्ने तयारी गरिएको छ । उद्योग व्यवस्थापनले आगामी पुषको पहिलो साताबाट पुनः सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरेको जनाएको छ ।
उद्योग व्यवस्थापनले मंसिर मै सिमेन्ट उत्पादन सुरु गर्ने भनिएपनि उद्योगको विभिन्न उपकरणहरु मर्मतको काम नसकिँदा अझै उत्पादन कार्य सुरु हुन नसकेको उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले जानकारी दिए ।
उपकरणहरुको मर्मत कार्य सम्पन्न हुने बितिकै पुष महिनाको पहिलो साताबाट सिमेन्ट उत्पादन सुरु गर्ने गरी तयारी भइरहेको उनले बताए ।
उद्योगको उपकरण बनाउन भारतबाट श्रमिक ल्याउनुपर्ने भएकाले मर्मत सम्भारमा समय लागेको उनको भनाई छ ।
उद्योग व्यवस्थापनले गत असोज १५ गतेदेखि सिमेन्ट उत्पादन कार्य बन्द गरेको थियो ।
२०३३ सालमा हेटौंडाको लामसुरेमा स्थापना भएको उक्त उद्योगले २०४३ सालदेखि सिमेन्ट उत्पादन कार्य सुरु गरेको थियो ।