मौसममा फेरबदलसँगै हुम्लामा हिमपात

हुम्ला । मौसममा फेरबदल भएसँगै हुम्लामा हिमपात भएको छ । हिमाली जिल्ला हुम्लामा यस वर्ष पहिलो पटक हिमपात भएको हो ।
आइतबार साँझदेखि मौसममा आएको फेरबदलका साथै दिउँसो हावाहुरी सुरु भएपछि गएरातिदेखि हिमपात भएको हो ।
आज बिहानसम्म सदरमुकाम सिमकोटमा तीन इञ्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकाको उच्च भेगमा रहेको लिमीलगायतका क्षेत्रमा एक फिट हिउँ जमेको जनाइएको छ ।
हिमपातपछि सदरमुकाम सिमकोट र आसपासका डाँडाकाँडा सेताम्मे भएका छन् भने जनजीवन प्रभावित बनेको छ ।
हिमपात सुरु भएसँगै त्यहाँका किसान खुसी भएका छन् । हिमपातले गहुँ, जौ र उवा खेतीलाई राम्रो हुने भन्दै जिल्लाका किसान खुसी भएका छन् ।