अवैध लागूऔषध सात जना पक्राउ
काठमाडौं । अवैध लागूऔषधसहित प्रहरीले देशको विभिन्न स्थानबाट सात जनालाई पक्राउ गरेको छ । प्रहरीले कञ्चनपुर, सुर्खेत, तनहुँ र कैलाली जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले कञ्चनपुरको भिमदत्त नगरपालिका–६ ऐठपुरस्थित त्रिवेणी चोकबाट अवैध लागूऔषध खैरो हेरोइन ३ सय ८० मिलिग्रामसहित २ जनालाई आइतबार साँझ पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भिमदत्त नगरपालिका–६ ऐठपुर बस्ने २३ वर्षीय राहुल डगौरा र २५ वर्षीय सञ्जु डगौरा रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यसैगरी, कञ्चनपुरको भिमदत्त नगरपालिका–३ भाँसीबाट अवैध लागूऔषध खैरो हेरोइन १ सय ४० मिलिग्रामसहित आइतबार दिउँसो एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३० वर्षीय टेक राज जोशी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालयबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यस्तै, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ खोली गाउँ बस्ने २९ वर्षीय बिशाल थापालाई अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम २ सय ९० मिलिग्रामसहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।
यता, तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारस्थित सडकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ट्याब्लेट, डाइजेपाम २० एम्पुल, फेनारगन २४ एम्पुल र बुप्रेनुर्फिन ३८ एम्पुल सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोरखा, गोरखा नगरपालिका–६ बस्ने ३० वर्षीय समिन जोशी र ३० वर्षीय सलिन श्रेष्ठ रहेका छन् । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले नारायणगढबाट गोरखातर्फ आउँदै गरेको ना.५ ख ३१४ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
कैलालीको टिकापुर नगरपालिका–९ खक्रोला पुल नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ९ सय ४० मिलिग्रामसहित सोही नगरपालिका–६ नारायणपुर बस्ने २० वर्षीय बिशाल चौधरीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।