जापान पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्साको ठोरी गाउँपालिका–४ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका–५ बस्ने ४५ वर्षीय बिष्णु लोप्चन रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले मंगलबार पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, विष्णुले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएका थिए । उनलाई ललितपुर, ललितपुर महानगरपालिका–१५ बाट पक्राउ गरिएको हो ।
पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।