हेटौंडा–६ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

तु खबर संवाददाता
२०८१ मंसिर २८,शुक्रबार ११:१९

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ निकृष्ट बालश्रम मुक्त, बाल विवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ ।

बिहिबार एक औपचारिक कार्यक्रमको आयोजना गरी ६ नम्वर वडालाई उपमहानगरपालिकाको १० औं वडाका रुपमा बालमैत्री वडा घोषणा गरिएको हो ।

हेटौंडा उपमहानगरपालिकाका मेयर मिनाकुमारी लामाको प्रमुख आतिथ्यता एवम् उपमेयर राजेश बानिंयाको विशेष आतिथ्यतामा घोषणा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा ६ नम्बर वडाका अध्यक्ष एवं बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा मूल समारोह समिति संयोजक विष्णु बहादुर दाहालले आवश्यक ५१ सूचक मध्ये ४८ सूचकमा सतप्रतिशत र ४ वटा सूचकमा न्यूनतम नतिजा हासिल गरेको दाबी गरे ।

‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराको साथ वडालाई बालमैत्री वडा घोषणा गरिएको उनको भनाई छ । यस वडामा १९ वटा बाल समूहहरु र एउटा वडा बाल सञ्जालमा ४ सय ७५ बालबालिका आबद्ध रहेका छन् ।

२०७९ को घरधुरी सर्वेक्षण अनुसार यस वडामा १८ वर्ष मुनिका २ हजार १ सय बालबालिका रहेका छन् । कार्यक्रम अघि बशंगोपाल माध्यामिक विद्यालयबाट ¥र्याली निकालेर चौघडा बजार परिक्रम गरी कार्यक्रम स्थल पुगेको थियो ।

कार्यक्रममा उपप्रमुख राजेश बानिँया, विभिन्न वडाका वडा अध्यक्षहरु लगायतको आतिथ्यता रहेको थियो ।

१९ वडा रहेको हेटौंडा उपमहानगरपालिकामा पछिल्लो समयमा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने क्रम बढ्दो छ ।