मकवानपुरका युवक मृत अवस्थामा फेला
मकवानपुर । मकवानपुरमा आज बिहान एक जना मृत अवस्थामा फेला परेका छन् ।
जिल्लाको राक्सिराङ गाउँपालिका वडा नम्वर ५, इन्चराङस्थित काकडा जाने भित्री सडकखण्डमा एक युवकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, उक्त शव मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्वर ८, शिखरपुर ठेगाना भई हाल बाराको जितपुर–सिमरा उपमहानगरपालिका–२२ बस्ने २१ वर्षीय समिर सुनारको हो ।
मृतकको भिनाजु नाता पर्ने मिलन घतानेले शवको सनाखत गरेको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।
उक्त घटनाको अनुसन्धानको लागि प्रहरीले ३ जनालाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धानका साथै कानुनी प्रकृया अगाडि बढाइएको छ ।
मृतक सुनारको शव हाल हेटौंडा अस्पतालमा राखिएको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।