स्थानीय प्रशासनकै मिलेमतोमा सामरी खोलामा विष हालियो
हेटौंडा । मकवानपुरगढीको सामरी खोलामा माछा मार्न विष प्रयोग गरिएको छ । विषको प्रयोगले माछासँगै जलजन्य जीवहरु नष्ट भएका छन् ।
नेपालको प्रचलित कानुनले नदिमा विष प्रयोग गर्न प्रतिबन्ध लगाएको भएपनि स्थानीय प्रशासनसँगको मिलेमतोमा माछा मार्न स्थानीयबासीहरुले विष प्रयोग गरेका हुुन् ।
जिल्लाकै प्रमुख नदिहरुमध्येको एक सामरी खोलामा ठूलो मात्रामा विष प्रयोग हुँदा माछा, भ्यागुता तथा अन्य पानीजन्य जीवहरु मरेर नष्ट भएका छन् ।
गएराति करिब ३० जनाको संख्यामा आएको समूहले राति नै बिष हालेर रातैभरी माछा मारेको र विहानीपख करिब ३० बोरा माछा लिएर भागेको स्रोतले बताएको छ ।
विष प्रयोग गर्ने समूहको पहिचान हुन सकेको छैन । खोला नजिकै धादिङ बजारमा प्रहरी चौकी छ । तर, खोलामा पटक पटक विषको प्रयोग हुँदा समेत प्रहरी बेखबर जस्तै देखिएको छ । माछा खान पाउने भएपछि प्रहरीकै मिलेमतोमा खोलामा विषको प्रयोग भएको स्थानीयको गुनासो छ ।
नदिमा कुन विष हालिएको हो भन्ने सम्बन्ध तथ्यहरु खुल्न सकेको छैन । माछा तस्करहरुले मानव स्वास्थ्यका लागि हानिकारक विषको प्रयोग गरेर ठूलो परिमाणमा माछा मारेर लगेकोले उक्त माछा हेटौडा तथा काठमाडौंमा बिक्रीका लागि लैजानसक्ने भएकोले तत्कालै प्रशासनले आवश्यक छानविन गरी कारबाहीको प्रक्रिया अगाडि बढाउनुपर्ने देखिएको छ ।
यसअघि पनि नदिमा करेन्ट लगाएर माछा मारिएको विषयमा स्थानीय प्रहरीलाई फोन गरेर जानकारी गराउँदा प्रहरीले त्यसलाई बेवास्था गर्दै आएको स्थानीयबासीको गुनासो छ । सामरी खोलाकोे माछा मार्न जैविक विविधता नै नष्ट हुने गरी विषको प्रयोग गर्दा समेत स्थानीय प्रशासन मौन देखिएको हो ।
आधारातमा विष हालेर ३० जनाभन्दा बढीको समूह खोलामा बसेर माछा मार्दा समेत प्रशासनले बेवास्था गरेको भन्दै स्थानीयहरुले आक्रोस पोखेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले घटनाबारे ध्यानाकर्षण भएको जनाएको छ ।