एकीकृत समाजवादीको स्थायी कमिटी बैठक लम्बियो

तु खबर संवाददाता
२०८१ मंसिर ३०,आईतवार १६:४१

काठमाडौं । आइतबार सकिने भनिएको नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक लम्बिएको छ ।

वार्षिक कार्ययोजनासहित नेताहरूको कार्यविभाजन गरेर बैठक सक्ने भनिएपनि नेताहरूले बोल्ने क्रम नसकिएकाले बैठक लम्बिएको हो ।

पार्टीका महासचिव घनश्याम भुसालले पेस गरेको ‘कार्ययोजना प्रस्ताव’माथि आइतबार बेदुराम भुसाल, रामकुमारी झाँक्री,विरोध खतिवडा, हरि पराजुली,शत्रुधन महतो र रामचन्द्र यादवले आ–आफ्नो धारणा व्यक्र गरेका छन् ।

यस्तै, बंशीधर मिश्र, श्रीप्रसाद साह, भरत श्रेष्ठ,प्रमेश हमाल,घनेन्द्र बस्नेत, घनश्याम भुसाल, माधव नेपाल र धर्मनाथ साहले धाराणा राख्न बाँकी रहेको उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए ।

उनले बोल्ने क्रम आज नसकिने भएकाले कार्यविभाजन भोलीको बैठकमा मात्र हुने बताए ।