आफैंमाथि गोली चलाउने असईलाई बर्खास्त गर्न सिफारिस
धनगढी । अछाममा आफैंमाथि गोली चलाउने प्रहरी सहायक निरीक्षक (असई)लाई बर्खास्त गर्न सिफारिस गरिएको छ ।
घटनाको छानबिन गर्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले गठन गरेको समितिले असई किसनबहादुर चन्दलाई बर्खास्त गर्न सिफारिस गरेको हो ।
चन्दले मदिरा सेवन गरेर आफैंमाथि पेस्तोल चलाएको, विगतमा पनि विभिन्न प्रहरीमाथि गोली ताक्ने काम गरेको जस्ता कारणले संगठन राख्न उपयुक्त नदेखिएको भन्दै समितिले उनलाई बर्खास्त गर्न सिफारिस गरेको प्रदेश प्रहरी कार्यालय स्रोतले जनाएको छ ।
अहिले उनी नेपाल प्रहरी अस्पताल काठमाडौँमा उपचाररत भएका कारण थप कारवाही प्रक्रिया अघि नबढेको जनाइएको छ ।
अछामको तुर्माखाद गाउँपालिका–३ को भैरवस्थान प्रहरी चौकीका इन्चार्जका रुपमा कार्यरत उनले मंसिर १३ गते आफैंमाथि पेस्तोल चलाएका थिए ।
घटना भएको दिन समेत चन्दले प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार गगन चन्दमाथि गोली प्रहार गर्न खोजेको र उनी भागेपछि आफैमाथि पेस्तोल प्रहार गरेको देखिएको स्रोतले जनाएको छ ।