दुर्घटनामा परेर दुई जनाको मृत्यु
हेटौंडा । देशको दुई छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । महोत्तरी र इलाममा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।
महोत्तरीको बर्दिबास नगरपालिका–१ रातो पुलमा बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । गएराति काठमाडौंबाट इलामतर्फ जाँदै गरेको बागमती प्रदेश ३–००१ ख २७२९ नम्बरको बसले किचेर अन्दाजी ५० वर्षीय पुरुषको मृत्यु भएको छ ।
बसको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा बर्दिबास अस्पतालमा राति साढे १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
मृतक ती पुरुषको पहिचान खुल्न सकेको छैन । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
यस्तै, इलाममा ट्रकमा च्यापिएर चालकको मृत्यु भएको छ । इलामको माङ्सेबुङ गाउँपालिका ३ सल्लेरीमा भएको घटनामा ट्रक चालक पाँचथरको हिलिहाङ गाउँपालिका ७ भारापा बस्ने ३८ वर्षीय कुमार तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, काठ बोकेको ना ३ ख ६०३७ नम्बरको ट्रक रवि–दमक सडकखण्डमा बिग्रिएपछि चालक तामाङले जग उठाएर मर्मत गर्दै थिए । त्यही बेला जग भासिएर च्यापिँदा उनको मृत्यु भएको हो ।
उनको आज बिहान ५ बजे मृत्यु भएको र प्रहरीले घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।