‘वडा केन्द्रित अभियान’ संचालन गर्ने तयारीमा एमाले
काठमाडौं । नेकपा एमालेले ‘वडा केन्द्रित अभियान’ संचालन गर्ने तयारी गरेको छ । एमालेले पार्टीलाई आगामी निर्वाचनमा निर्णायक राष्ट्रिय शक्ति बनाउने उद्देश्यले आगामी माघदेखि चैतसम्म तीन महिने ‘वडा केन्द्रित अभियान’ अभियान सञ्चालन गर्ने तयारी गरेको हो ।
उक्त अभियान संचालनका लागि पार्टी केन्द्रीय सचिवालयसँग छलफल गरेर मोडालिटी बनाउने संगठन विभागका सचिव माधव ढुंगेलले बताए ।
उनका अनुसार, वडा केन्द्रित अभियान सञ्चालन गर्ने सङ्कल्प कार्यशालाले गरिसकेको छ । अब पार्टी सचिवालयसँगको छलफलमा कार्यक्रमको मोडालिटी तय हुनेछ ।
केन्द्रीय संगठन विभागको आयोजनामा भएको ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक राष्ट्रिय कार्यशालाले तीन महिने वडाकेन्द्रीत अभियानसहित ६ बुँदे सङ्कल्प गरेको उनले बताए ।
मंसिर २९ र ३० गते सम्पन्न कार्यशालामा देशभर पार्टीका कार्यकारी जिम्मेवारीमा रहेका, प्रदेश, जिल्ला जनसंगठन र तोकिएका जनप्रतिनिधिहरुसहित ३०० जनाले सहभागिता जनाएका थिए ।