एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाउने
भक्तपुर । यस वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा अर्थात् एसइईमा विद्यार्थीले अघिल्लो वर्ष ‘नो ग्रेड’ (एनजी) आएको विषयको मात्रै परीक्षा दिन पाइने भएको छ ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले उक्त व्यवस्था लागू गर्न लागेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए । उनका अनुसार, यसै वर्षदेखि लागू हुने गर्न लेटर ग्रेडिङ निर्देशिका २०७८ संशोधन गरी यस वर्षदेखि जुन विषयमा एनजी आएको हो त्यही विषयको मात्रै परीक्षा दिन पाउने व्यवस्था गर्न लागिएको हो ।
कक्षा आठ, १० र १२ मा सबै विषयमा अनिवार्य रुपमा सैद्धान्तिकमा ‘डी’ र प्रयोगात्मकमा ‘सी’ ल्याउनैपर्ने व्यवस्था रहेको छ । संशोधन गरिएको निर्देशिका अनुसार नियमित वा ग्रेड वृद्धि परीक्षामा कम्तीमा डी ल्याउनैपर्नेछ ।
विद्यार्थीले नियमित र मौका परीक्षा दिँदा पनि विद्यार्थीले जुनजुन विषयमा एनजी आएको छ, त्यो विषयको मात्रै परीक्षा दिन पाउने परीक्षा नियन्त्रक पौडेलले बताए ।
विद्यार्थीले यस्तो यो अवसर तीन वर्षसम्म पाउनेछन् । यस वर्ष कक्षा १० को अन्तिम परीक्षा आगामी चैत पहिलो साताबाट हुने जनाइएको छ ।