फरार प्रतिवादी ३३ वर्षपछि पक्राउ

तु खबर संवाददाता
२०८१ पुष ४,बिहीबार १४:१५

हेटौंडा । ३३ वर्षदेखि फरार रहेका लुटपिट मुद्दाका प्रतिवादी मकवानपुरको थाहा नगरपालिका–६ का ६४ वर्षीय भवनाथ अर्याललाई प्रहरीले पक्राउ गरेको छ ।

मकवानपुर जिल्ला अदालत हेटौंडाले वि.स.२०४८ साल माघ ६ गतेको फैसला अनुसार उनलाई १ हजार ५७५ रुपैयाँ जरिवाना सजाय तोकिएको थियो ।

फैसला कार्यान्वयनका क्रममा वारदातपछि फरार रहेका अर्याललाई लामो समयपछि खोजतलास गरी पुस २ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउपछि आवश्यक कानूनी प्रक्रिया पूरा गरी उनलाई मकवानपुर जिल्ला अदालत हेटौंडामा बुझाइएको छ । प्रहरीले यसलाई पुराना मुद्दाका फरार प्रतिवादीहरूलाई कानूनी दायरामा ल्याउने प्रयासको एक महत्वपूर्ण उपलब्धि मानेको छ ।