एकीकृत समाजवादीले सात प्रदेशका इन्चार्ज र सहइन्चार्ज तोक्यो

तु खबर संवाददाता
२०८१ पुष ६,शनिबार १०:१६

काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय नेताहरूको कार्यविभाजन गरेको छ । जसअन्तर्गत नेकपा एकीकृत समाजवादी सातै प्रदेशको लागि इन्चार्ज र सहइन्चार्ज पनि तोकेको छ ।

कार्यविभाजनमा प्रदेशको जिम्मेवारीमा रहने सबै पोलिटब्युरो सदस्यलाई सम्बन्धित प्रदेशको सहइन्चार्ज बनाएको उल्लेख गरिएको छ । इन्चार्जमा भने पदाधिकारीलाई प्राथमिकता दिएको छ ।

कोशी प्रदेशको इन्चार्जको जिम्मेवारी उपमहासचिव राजेन्द्र राई,लाई तोकिएको छ भने सहइन्चार्ज भए ९ जनालाई बनाइएको छ । जसनुसार, बलदेव चौधरी, धर्म निरौला, भवानीप्रसाद खापुङ, महेश रेग्मी, राजन राई, केशव कुमार विष्ट, खिनु लङवा लिम्बु, जीवन राई र विद्या चाम्लिङ सहइन्चार्ज बनेका छन् ।

त्यसैगरी मधेस प्रदेशको इन्चार्जको जिम्मेवारी उपाध्यक्षसमेत रहेका धर्मनाथ प्रसाद साहलाई तोकिएको छ भने स्थायी कमिटी सदस्य नगेन्द्र चौधरी यस प्रदेशको सहइन्चार्ज बनेका छन् ।

बागमती प्रदेशको इन्चार्ज उपाध्यक्ष गंगालाल तुलाधर बनेका छन् भने २ जना सहइन्चार्ज बनेका छन् । सहइन्चार्जहरुमा क्रमशः जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, गंगाप्रसाद नेपाल, गुरुप्रसाद बुर्लाकोटी, वसन्त मानन्धर, राजेन्द्र लोहनी, शिव भण्डारी, टोकबहादुर वाइबा, भगवती नेपाल, लक्ष्मण लम्साल, विदुर सापकोटा, सुदेश पराजुली सहइन्चार्ज बनेका छन् ।

यसैगरी इन्द्रमाया गुरुङलाई सोही प्रदेशको महिला फाँट इन्चार्जको जिम्मेवारी दिइएको सो पार्टीले जनाएको छ ।

गण्डकी प्रदेशमा भने सचिव श्रीनाथ बराल इन्चार्ज बन्दा पोलिटब्युरो सदस्य दिलुकुमारी पन्त सहइन्चार्ज बनेकी छन् ।

लुम्बिनी प्रदेशको इन्चार्जको जिम्मेवारी उपमहासचिव मेटमणि चौधरीलाई तोकिएको छ भने सहइन्चार्जमा सचिव सोमप्रसाद पाण्डे रहेका छन् । कर्णाली प्रदेशको इन्चार्जमा भने सचिव चन्द्रबहादुर शाही चयन भएका छन् भने सहइन्चार्जको जिम्मेवारी पोलिटब्युरो सदस्य शेरबहादुर केसीले पाएका छन् ।

सुदूरपश्चिम प्रदेशमा भने उपाध्यक्ष भानुभक्त जोशी इन्चार्जको जिम्मेवारीमा रहनेछन् भने त्यहाँको सहइन्चार्जको जिम्मेवारी सचिव शेरबहादुर कुँवरले पाएको जनाइएको छ ।