हेटौंडामा जलवायु परिवर्तन सम्बन्धी प्रदेश स्तरीय संवाद कार्यक्रम

तु खबर संवाददाता
२०८१ पुष ८,सोमबार १५:०६

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा जलवायु परिवर्तन सम्बन्धी संवाद कार्यक्रम सम्पन्न भएको छ । जलवायु क्रियाको स्थानीयकरणः सार्वजनिक सम्पदा संरक्षण र न्यायमा लैगिंक दृष्किोण विषयक प्रदेश स्तरीय संवाद कार्यक्रम सोमबार सम्पन्न भएको हो ।

कार्यक्रम मकवानपुर महिला समूह, चितवन सक्रिय महिला फाउन्डेशन र एक्सन एड नेपालको संयुक्त आयोजनामा हुने भएको हो । सो कार्यक्रम मुख्यमन्त्री बहादुर सिं लामाको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले मानवीय वातावरण र सम्पदालाई जोगाउनुपर्नेमा जोड दिए । उनले वातावरण नराम्रो हुँदा सबैलाई प्रभाव पार्ने भएकाले वातावरण जोगाउन सबै लाग्नुपर्ने भन्दै वातावरण प्रभाव मूल्याङ्कन गर्दा विशेष ध्यान दिनुपर्ने बताए । जलवायु परिवर्तनको प्रभाव स्थानीय स्तरमा बढी पर्ने भएकाले यसको सचेतना स्थानीय तहमा बढी हुनुपर्ने उनले बताए ।

यस्तै, कार्यक्रममा बोल्दै बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले जलवायु परिवर्तनको असर बढेको प्रति चिन्ता व्यक्त गरे । उनले नीतिगत रूपमा मन्त्रालय सहयोग गर्न दृढता व्यक्त गरे ।

वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले सुविधाको नाममा पृथ्वीलाई मानव समुदायले ध्वस्त बनाउँदै लगेको बताए । जलवायु परिवर्तनले हिमाल पग्लँदै गएको र तटीय बस्तीका समुदाय जोखिममा रहेको भन्दै उनले चिन्ता व्यक्त गरे ।

यस्तै, ग्रामीण, सीमान्तकृत समुदायमा रहेका महिला जलवायुको परिवर्तनका कारण बढी प्रभावित भएको सक्रिय महिला समूह चितवन कार्यक्रम संयोजक सुजता बर्तौलाले बताइन् । वन, वातावरण र पानीको स्रोत संरक्षण गर्न चुनौती रहेको उल्लेख गरे ।

बागमती प्रदेश सभा सदस्य एवम् वन तथा वातावरण समिति सदस्य भारती पाठकले समन्वय, सहकार्य र सहअस्तित्वसहित अगाडि बढेर जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न लाग्नुपर्ने बताइन् । उनले संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय नहुँदा समस्या भएको बताइन् ।

कार्यक्रममा एक्सन एड परियोजना कार्यक्रम संयोजक कविता बस्नेतले जलवायु परिवर्तन र यस्ले पारेको असरबारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा संघीय सरकारले निर्माण गरेका जलवायुसम्बन्धी नीति, ऐनलाई स्थानीय तहसम्म ल्याउँदा परेको कठिनाइ, समस्यालाई कसरी समाधान गर्ने लगायतका विषयमा बृहत् छलफल भएको थियो ।

संवाद कार्यक्रम स्थलमा वनसँग जोडिएर उत्पादन गरिएको साबुन, ढक्की, महको लगायतका स्टल राखिएको थियो ।

कार्यक्रम मकवानपुर महिला समूह अध्यक्ष कमला सुवेदीको सभाध्यक्षतामा भएको हो ।