वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा गोरखा पालुङटार नगरपालिका–७ च्याङली घर भई काठमाडौं टोखा ग्रिनल्याण्ड बस्ने २८ वर्षीय किशान कुमाल र खोटाङ दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ ओख्रे घर भई काठमाडौं बसुन्धारा बस्ने ३३ वर्षीय युवक खड्का रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले किशानलाई काठमाडौं टेकुबाट शुक्रबार र युवकलाई काठमाडौं रत्नपार्कबाट शनिबार पक्राउ गरेको हो ।
पक्राउ परेकामध्ये किशानले इजरायल पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ३३ लाख ५० हजार रूपैयाँ र युवकले मलेसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।