अवैध लागूऔषधसहित सात जना पक्राउ
हेटौंडा । अवैध लागूऔषधसहित प्रहरीले देशको छुट्टाछुट्टै स्थानबाट सात जनालाई पक्राउ गरेको छ । प्रहरीेले सर्लाही, बाँके, कपिलवस्तु, कैलाली र रुपन्देही जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले सर्लाहीको पर्सा गाउँपालिका–३ बाट अवैध लागूऔषध गाँजा ५ किलोग्राम सहित ईश्वरपुर नगरपालिका–३ बस्ने २३ वर्षीय बिजय महतोलाई सोमबार दिउँसो पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाही समेतबाट खटिएको प्रहरीलाई देख्नासाथ हाल नम्बर नखुलेको मोटरसाइकलका चालकले मोटरसाइकलमा सवार बिजयलाई झोला सहित छोडी फरार भएपश्चात प्रहरीले झोलाबाट उक्त गाँजा फेला पारी बिजयलाई पक्राउ गरेको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यस्तै, बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर ८ सय मिलिग्राम सहित कोहलपुर नगरपालिका–२ बस्ने २५ वर्षीय हेमराज परियारलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
उता, कपिलवस्तुको बाणगंगा नगरपालिका–११ ओदारीबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ७ सय ९० मिलिग्रामसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाणगंगा नगरपालिका–७ बनगाई बस्ने २१ वर्षीय सन्तोष थापा र पाल्पा तिनाउ गाउँपालिका–३ बस्ने ३० वर्षीय बिशाल कुँवर रहेका छन् । अस्थायी प्रहरी पोष्ट ओदारीबाट खटिएको प्रहरीले तौलिहवाबाट जितपुरतर्फ आउँदै गरेको लु.९७ प ११४ नम्बरको स्कुटरलाई जाँच गर्दा उक्त पदार्थ फेला पारी चालक बिशाल र मोटरसाइकलमा सवार सन्तोषलाई पक्राउ गरेको हो ।
यस्तै, कैलाली, धनगढी उपमहानगरपालिका–५ लवली चोकबाट अवैध लागूऔषध खैरो हेरोइन ७ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने १९ वर्षीय कृष बमलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यसैगरी, रूपन्देहीको सैनामैना नगरपालिका–८ बाँसगदीस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ४ सय ८० मिलिग्रामसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय नारायण थारू र २७ वर्षीय आकाश चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले लु.८३ प ७१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।