थानकोट–चित्लाङ सडक बिहान–बेलुका मात्रै खुला हुने
हेटौंडा । मकवानपुर र काठमाडौं जोड्ने छोटो दूरीको मार्ग थानकोट–चित्लाङ सडक (गणेशमान मार्ग) बिहान र बेलुकाको समयमा मात्रै खुला गरिएको छ ।
सडक डिभिजन कार्यालय काठमाडौंले उक्त सडक एक महिनाका लागि पूर्ण रूपमा बन्द गरेको थियो । स्थानीय बासिन्दाको समस्याप्रति बेवास्ता गर्दै विकल्प बिना सडक बन्द गरिएको भन्दै नागरिक स्तरबाट विरोध जनाएपछि बिहान र बेलुकाका लागि मात्रै खुल्ला गरिएको हो ।
थाहा नगरपालिका वडा नं. ९ का कार्यबाहक वडाध्यक्ष रामकृष्ण कपालीले सडक पूर्ण रूपमा बन्द गर्दा यात्रुहरूलाई हुने असुविधालाई दृष्टिगत गरी सडक डिभिजन कार्यालयसँगको सहकार्यमा आंशिक रूपमा सवारी साधन सञ्चालन गर्ने व्यवस्था मिलाएको बताए ।
उनका अनुसार, थानकोट–चित्लाङ सडक स्तरोन्नतिका क्रममा बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म बन्द हुने र सो बाहेकको समय सवारीका साधन सञ्चालन गर्न पाउनेछ ।
साथै कावा वडाध्यक्ष कपालीले चन्द्रागिरी नगरपालिका वडा नं. ४ को कार्यालय, प्रहरी चेकपोष्ट, चन्द्रागिरी र इलाका प्रहरी कार्यालय, चित्लाङलाई आवश्यक सहयोग तथा समन्वयका लागि पत्राचार गरेको छ ।
थाहा नगरपालिका वडा नं. १० का दीपक गोपालीले सडक डिभिजन कार्यालय, काठमाडौं र वडाध्यक्षसहित गएको प्रतिनिधिमण्डलबीच बिहान ९ बजे अगावै र दिउँसोको ४ बजेपछि सवारी साधन प्रवेश गरिसक्नुपर्ने गरी सहमति भएको बताए ।
सडक डिभिजन कार्यालय काठमाडौंले उक्त सडकको पानीघाटदेखि चन्द्रागिरि भञ्ज्याङ खण्ड पुष ७ गते आइतबारदेखि आगामी माघ ६ गतेसम्म पूर्ण रुपमा आवागमन बन्द हुने भनिएको थियो ।