मन्त्री र सचिवलाई प्रदेश राजधानीमै बस्न मुख्यमन्त्रीको निर्देशन
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले प्रदेशका मन्त्री र सचिवहरुलाई केही दिन प्रदेश राजधानी हेटौंडामा नै बस्न निर्देशन दिएका छन् । मुख्यमन्त्री लामाले आफू नेतृत्वको सरकारका रहेका मन्त्रीहरुलाई चार दिन र सचिवहरुलाई पाँच दिन हेटौंडामा बस्न निर्देशन दिएका हुन् ।
मंगलबार हेटौंडा–२ स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित मन्त्रालयगत रुपमा चालु आर्थिक वर्ष २०८१–०८२ को पछिल्लो महिनाको प्रगतिको समीक्षालाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले यस्तो निर्देशन दिएका हुन् । उनले सरकारको नीति तथा कार्यक्रम र बजेट पूर्ण रुपमा कार्यान्वयन नहुँदा विकास निर्माणले गति लिन नसकेपछि मन्त्रीहरुलाई हेटौंडामै रहेर कार्यसम्पादन गर्न भनेका हुन् ।
यस्तै, सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले सरकारले बजेट खर्च बढाउन र तीव्र रुपमा योजना सम्पन्न गर्न निर्देशन भएको जानकारी दिए । उनले भने, ‘अत्यावश्यक कामबाहेक हेटौंडा नछाड्न र मन्त्रालयमै रहेर काम गर्न मुख्यमन्त्रीबाट हामीलाई निर्देशन भएको छ ।’
१४ वटा मन्त्रालय रहेको बागमती प्रदेशको समीक्षा बैठकमा प्रदेशका विभिन्न मन्त्रालयका मन्त्रीहरु र सचिवहरुको सहभागिता रहेको थियो । बैठकमा चार जना मन्त्री अनुपस्थित थिए ।