‘व्यवसायीहरुको हितको पक्षमा काम गर्न मेरो उम्मेदवारी’
मकवानपुर । मकवानपुर उद्योग वाणिज्य (मउवा) संघको यही पुष २७ गते हुने निर्वाचन अन्तरगत महासचिव पदको उम्मेदवार प्रतिमा श्रेष्ठले व्यवसायीहरुको हितको पक्षमा काम गर्न आफ्नो उम्मेदवारी रहेको बताएकी छन् । २० वर्षदेखि व्यवसायी क्षेत्रमा आबद्ध रहेकी उनले सबै व्यवसायीको समस्याको विषयमा बोल्दै आएको भन्दै अब ती तमाम विषयहरुमा काम गर्न आफ्नो उम्मेदवारी रहेको बताइन् ।
उनले भने, ‘श्री श्रेष्ठ सप्लायर्स, संन्सारी पोल्ट्री हाउसमा आबद्ध भएको २० वर्ष भएको छ । यो २० वर्षमा मैले व्यवसायीक सफलता मात्र होइन थुप्रै अनुभव बटुलेको छु । सामाजिक संघ–सस्थाको नेतृत्व लिएको छु । यसबीचमा आफ्नै व्यवसाय पनि स्थापना गरेको छु ।’
उनले मकवानपुर उद्योग वाणिज्य संघको सदस्यमा एक कार्यकाल काम गरिसकेकी छन् । उनी अघिल्लो कार्यकालमा हालका अध्यक्ष पदका उम्मेदवार प्रमोद सिंह रानाभाटसंग उद्योग तर्फको उपाध्यक्षमा प्रतिस्पर्धा गरेकी थिइन् । सो क्रममा उनी थोरै मतले उपविजेता बनेकी थिइन् । उनी अहिले रानाभाटकै टिमबाट महासचिव पदमा उम्मेदवार बनेकी हुन् ।
‘हामीले हाम्रो टिमको साझा छलफलबाट हाम्रो प्रतिबद्धता बनाएका हौँ । प्रमोद सिंह रानाभाटको नेतृत्वको प्यानलको प्रतिबद्धता बनाउँदा मेरो समेत सक्रीय भूमिका रहेको छ । यसका आधारमा भन्नुपर्दा व्यवसायिक पेशागत सुरक्षा र पेशागर्दा व्यवसायीले सामाना गर्ने समस्या समाधान नै हाम्रो साझा लक्ष्य हुनेछ । म आफै पनि महिला व्यवसायी भएको हुँदा हामीले उद्यमी महिलाहरुलाई प्रोत्साहन गर्नेगरी काम गर्ने योजना बनाएका छौँ ।’, उनले भनिन् ।
साथै उनले मकवानपुर उद्योग वाणिज्य संघमा आबद्द्ध व्यवसायीहरुले यस संस्थाको सदस्यको परिचय दिँदा उनीहरुको शीर उँचो हुनेगरी हामी यस संघको गरिमा बढाउने प्रतिबद्धता व्यक्त गरिन् ।