राक्सिराङ्ग गाउँपालिकाको १७ औं हिउँदे अधिवेशन सम्पन्न

तु खबर संवाददाता
२०८१ पुष २६,शुक्रबार ०९:४६

मकवानपुर । मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाको १७ औं हिउँदे अधिवेशन बिहीबार सम्पन्न भएको छ । अधिवेशन बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

राक्सिराङ्गको चैनपुरमा आयोजित अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री लामाले चेपाङ समुदायको बाहुल्यता रहेको राक्सिकराङ्गमा उनीहरुको संरक्षणमा सरकारले विशेष पहल गर्ने प्रतिबद्धता जनाए ।

उनले भने, ‘चेपाङ जातिको विकास, प्रबद्र्धनका लागि प्रदेश सरकारले विशेष कार्यक्रमको आयोजना गर्नेछ ।’ उनले राक्सिराङको सडक र पक्की पुल निर्माणमा सरकारले बजेट व्यवस्थापन र सहजीकरण गर्ने भन्दै राझधानी सङ्ग जोडिएको उक्त पालिकामा विकास अवरोध हुनु सरकारको ध्यानाकर्षणको विषय भएको बताए ।

उनले राक्सिराङ्ग गाउँपालिकालाई कृषिमा आत्मनिर्भर क्षेत्र घोषणा गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । राक्सिराङ्गमा गाँजा उत्पादन त्यहाँको बाध्यता भएको बताउँदै उनले गाजाले वैधानिकता पाउनुपर्नेमा जोड दिए ।

त्यस्तै, कार्यक्रमका विशिष्ट अतिथि मकवानपुर क्षेत्र नम्बर २ संघीय सांसद महेश कुमार बर्तौलाले राजनितिक मतभेदलाई विकासमा नमिसाउन आग्रह गरे । संघीय, प्रदेश र स्थानीय सरकारबीच समन्वय हुनु आवश्यक रहेको उनको भनाई छ । संघीय सरकारको बजेट निर्माण प्रक्रियामा राक्सिराङ्ग गाउँपालिकाका योजनाहरु समावेश गर्न पहल गर्ने उनको दृढता व्यक्त गरे ।

गाउँसभा गाउँपालिका अध्यक्ष राजकुमार मल्लको सभाध्यक्षतामा भएको हो ।

सो क्रममा राक्सिराङ गाउँपालिकाले वडा नम्बर–७ लाई चेपाङ साँस्कृतिक तथा पर्यटकीय क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ ।

यस्तै, सो क्रममा गाउँपालिकाले गाउँपालिकाको गतिविधि र समग्र जनोसरोकारको कुरामा सञ्चार माध्यममार्फत् राक्सिराङको पहिचान गराउन सहयोग पुर्याएको भन्दै मकवानपुरका पत्रकार प्रष्टखबरका वरिष्ठ संवाददाता सुनिल शिवाकोटी र समृद्ध समाज राष्ट्रिय दैनिक पत्रिकाका प्रधान सम्पादक सुरेश श्रेष्ठलाई नगदसहित सम्मान गरेको थियो । साथै पालिकाले कृषक, विद्यार्थी ,शिक्षक र महिला उद्यमी पनि सम्मलाई सम्मान गरेको थियो ।

कार्यक्रममा अतिथिहरूलाई पालिकाले स्थानीय स्तरमा उत्पादित कुच्चो, नाङ्लो, चिउरीको मह, दाल, गहत मायाको चिनो स्वरूप प्रदान गरेको थियो ।