२ लाख ‘एचपीभी’ खोप नेपाल ल्याइँदै
काठमाडौं । २ लाख क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप नेपाल ल्याइँदै छ । आगामी माघ २२ गतेदेखि देश व्यापीरुपमा लगाउने तयारी गरेको सरकारले थप २ लाख मात्रा खोप ल्याउन लागिएको हो ।
सरकारले १५ लाख मात्राको एचपीभी खोप यसअघि नै ल्याइसकेको छ । १७ लाखमध्ये १५ लाख मात्रा खोप आइपुगेको परिवार कल्याण महाशाखा अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ ।
शाखाका अनुसार, थप २ लाख मात्रा खोप भने यही पौष २८ गते आइपुग्ने छ । नेपालमा पाठेघरको क्यान्सरलाई निवारण गर्ने लक्ष्यका साथ सरकारले एचपीभी खोप अभियान २०८१–०८२ सञ्चालन गर्ने घोषणा गरिसकेको छ ।
पाठेघरको मुखको क्यान्सरका कारण बढ्दै गएको अकाल मृत्युको जोखिमबाट जोगाउने उद्देश्यका साथ करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको जनाइएको छ ।