मकवानपुर प्रहरीद्वारा लागूऔषधसहित तीन जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट तीन जनालाई पक्राउ गरेको छ । मकवानपुरका प्रहरी प्रमुख विश्वराज खड्काले आज बिहान पत्रकार सम्मेलनको आयोजना गरी अवैध लागूऔषध चरेश, अफिम तथा गाँजासहित एक नेपाली र दुई भारतीय नागरिकलाई पक्राउ गरेको जानकारी गराएका हुन् ।
प्रहरी प्रमुख खड्का अनुसार, शनिबार बिहान २ बजेको समयमा इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले २१ किलो ४६० ग्राम चरेश र ३ किलो ४ सय ७० ग्राम अफिमसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा भारतको हरियाणा बस्ने २५ वर्षीय कुनाल गोथ्वाल र सोहि स्थान बस्ने २० वर्षीय मनिष कुमार रहेका छन् । उनीहरुलाई मकवानपुरको थाहा नगरपालिका वडा नम्बर–११ टिस्टुङ नौखण्डेस्थित त्रिभुवन राजपथ सडकखण्डबाट पक्राउ गरिएको हो ।
हेटौंडा हुँदै भारततर्फ लागूऔषध ओसारप्रसार भइरहेको छ भन्ने विशेष सुचनाको आधारमा खटिएको टोलीले डीएल ८ सीएक्स १२२४ नम्बरको कारलाई राकी चेकजाँच गर्ने क्रममा लुकाईछिपाई ल्याइएको उक्त परिणामको लागूऔषध बरामद भएपछि निजहरुलाई पक्राउ गरिएको हो ।
यस्तै, प्रहरीले अवैध लागूऔषध गाँजासहित आज बिहान एक जनालाई पक्राउ गरेको छ । बिहान साढे ५ बजेको समयमा प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले हेटौंडा–१५ रातोमाटे चेकपोइन्टस्थित सवारी चेकजाँचका क्रममा १०१ किलो लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको प्रहरी प्रमुख खड्काले बताए ।
प्रहरी प्रमुख खड्का अनुसार, चितवनबाट विरगंजतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट डीएल १३ सी १५६१ नम्बरको कारमा लुकाईछिपाई ल्याइएको उक्त परिमाणको गाँजा बरामद भएपछि कार चालक पर्साको वीरगंज महानगरपालिका वडा नम्बर २६, अठराह सुगौली बस्ने वर्ष २० को राजन रारुत कुर्मीलाई पक्राउ गरिएको हो ।
ती दुबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको प्रहरी प्रमुख खड्काले बताए ।