२८ यात्रुलाई ‘फुड पोइजन’
काठमाडौं । काठमाडौंबाट हङकङ उडेका २८ यात्रुलाई ‘फुड पोइजन’ भएको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यसबारे जानकारी प्राप्त भएपछि एक छानबिन समिति गठन गरेको छ ।
क्याथे प्यासिफिकको उडानमा छुट्टाछुट्टै मितिमा काठमाडौंबाट हङकङ गएका यात्रुलाई जहाजको खाना खाँदा फुड पोइजन भएको पाइएको विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले जानकारी दिए ।
उनका अनुसार, विश्व खाद्य कार्यक्रम तथा विश्व स्वास्थ्य संगठनबाट संयुक्त रुपमा खाद्य स्वच्छता नियामक निकायहरूको अन्तर्राष्ट्रिय संजाल ‘इन्टरनेशनल फुड सेफ्टी अथोरिटी नेटवर्क’ सञ्चालनमा रहेको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक उक्त नेटवर्कको इमरजेन्सी कन्ट्याक्ट पोइन्टको रुपमा रहने गरेका छन् । सोही नेटवर्कबाट आफूलाई २८ जनामा फुड पोइजन भएको इमेल प्राप्त भएपछि विभागका सुमन धितालको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको महर्जनले जानकारी दिए ।
जनवरी ११ मा नेटवर्कबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलवाट हङकङ उडान भएको क्याथे प्यासिफिकको मिति जनवरी ८ गते उडानमा रहेको १० जना र जनवरी ९ गते उडानमा गएका १८ जना यात्रुहरूलाई फुड पोइजन भएको उनले बताए ।
छानबिन समितिलाई यस सम्बन्धमा अध्ययन प्रतिवेदन ७ दिन भित्र विभागलाई बुझाउन निर्देशन दिएको उनको भनाई छ ।