मुआब्जा नदिई रेल विभागले टेन्डर गरेको भन्दै विरोध

तु खबर संवाददाता
२०८१ माघ ३,बिहीबार १४:०४

काठमाडौँ । मुआब्जा समस्या समाधान नै नगरी रेल विभागले टेन्डर प्रक्रिया थालेको भन्दै महोत्तरीको बर्दिबासका जग्गाधनीले विरोध जनाएका छन् ।

बर्दिबास रेल परियोजना अन्तर्गत बर्दिबास नगरपालिकामा रहने स्टेसन क्षेत्र नजिकको जग्गामा वर्षौँदेखि बसोबास गरिरहेका १४ घरपरिवारहरुले सीमाङ्कन गरी विवाद समाधान गरी मुआब्जा वितरण गर्न रेल विभागसँग माग गरेका थिए । ती स्थानमा जग्गाको मुआब्जा विवाद समाधान नगरी हतारमा टेन्डर प्रक्रिया अगाडि बढाउँदा काम अघि बढ्न सकेको छैन ।

स्टेसन छेउमा रहेको उक्त जग्गा २०२२ सालमा नापीले जापजाँच गरेको थियो । तर, त्यतिबेला लालपुर्जा भने लिन छुटेको थियो । लालपुर्जा लिएको जग्गा २०७८ सालमै प्रतिकठ्ठा ६१ लाख रुपैयाँमा मुआब्जा वितरण भइसकेको छ । तर लालपुर्जा लिन छोडेका १४ परिवारको मुआब्जा प्राविधिक कारणले रोकिएको छ ।

रेल विभागका प्रवक्ता कमल कुमार शाह उक्त जग्गालाई मुआब्जा दिनुपर्छ भन्नेमा विभाग प्रस्ट रहेको भए पनि लालपुर्जा नभएको कारण दिन नसकिएको बताउँछन् । उक्त जग्गामा मुआब्जा दिनुपर्छ भनेर मन्त्रालयमा सिफारिस गरिसकिएको भन्दै उनले तर सरकारले निर्णय नगरी मुआब्जा दिने अवस्था नभएको बताउँछन् ।

सो क्षेत्रका स्थानीयले पनि चलनचल्तीभन्दा कम मुआब्जा दिने निर्णय भएको भन्दै लिन अस्वीकार गरेका छन् । मुआब्जा नपाएकामध्ये एकजना पीडित माधव दाहाल यो जग्गा ऐलानी नभएर नम्बरी नै रहेको भन्दै लालपुर्जा मात्रै लिन छुटेको बताउँछन् । २०७८ सालमा प्रतिकठ्ठा ६१ लाख दिइएको जग्गामा तीन वर्षको मूल्यवृद्धि जोडेर मुआब्जा पाउनुपर्ने उनको भनाइ छ ।