मकवानपुर आएर राष्ट्रपति पौडेलले गरे फास्टट्रयाकको निरीक्षण

तु खबर संवाददाता
२०८१ माघ ४,शुक्रबार १३:४८
तस्वीरः राष्ट्रपतिको कार्यालय

मकवानपुर । निर्माणाधीन काठमाडौँ–तराई/मधेश दु्रतमार्ग आयोजनाको आज राष्ट्रपति रामचन्द्र पौडेलले स्थलगत निरीक्षण गरी सो क्षेत्रमा भइरहेको कामकारबाही र प्रगतिबारे जानकारी लिएका छन् ।

उनले निर्माणाधीन सुरुङ, पुल र सडकको अवलोकन गर्नुका साथै आयोजना सम्पन्न गर्न भइरहेका प्रयास र प्रयत्नलगायतका विषयमा आवश्यक जानकारी लिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

निरीक्षणपछि राष्ट्रपति पौडेलले आयोजनालाई तोकिएको समयावधिभित्र पूरा गर्न उच्च मनोबलका साथ काम गर्न सेनालाई निर्देशन दिएका छन् ।

मुलुकका राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा प्राथमिकतामा रहेको उक्त आयोजना नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको छ ।

काठमाडौं, ललितपुर, मकवानपुर हुँदै बाराको निजगढमा पुगेर पूर्व–पश्चिम राजमार्गमा जोडिने द्रुतमार्ग निर्माणपछि मुलुकको विकास र समृद्धिमा ठुलो योगदान पुग्ने अपेक्षा राखिएको छ ।