बागमती प्रदेशमा पुँजीगत खर्च १० प्रतिशत मात्र
हेटौंडा । बागमती प्रदशेमा पछिल्लो ६ महिनाको अवधिमा पुँजीगत र्च १० प्रतिशत मात्र भएको छ । प्रदेशमा चालु आर्थिक वर्षको साउन महिनादेखि पौष मसान्तसम्ममा कुल पुँजीगत बजेटको १० दशमलव ३२ प्रतिशत मात्रै खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।
सो मन्त्रालयका अनुसार, आर्थिक वर्ष २०८१–०८२ को लागि कुल ३७ अर्ब ९ करोड १२ लाख रुपैयाँ पुँजीगत बजेट विनियोजन गरिएकोमा पौष मसान्तसम्ममा ३ अर्ब ८२ करोड ८१ लाख रुपैयाँ मात्र खर्च भएको हो । प्रदेश सरकारको चालु तथा पुँजीगत गरी कुल खर्चको प्रगति १६ दशमलव २७ प्रतिशत रहेको छ ।
सो मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलका अनुसार, ६४ अर्ब ५४ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहिएकोमा पौष मसान्तसम्ममा १० अर्ब ५० करोड २९ लाख रुपैयाँ खर्च भएको छ । पुँजीगत खर्चतर्फको प्रगति साढे १० प्रतिशतमै सीमित हुँदा चालुतर्फ भने २५ दशमलव ७२ प्रतिशत खर्च भइसकेको छ ।
यस्तै, चालुतर्फ २५ अर्ब ९४ करोड ९१ लाख विनियोजन भएकोमा ६ महिनाको अवधिमा ६ अर्ब ६७ करोड ४७ लाख रुपैयाँ र वित्तीप व्यवस्थातर्फ विनियोजन गरिएको एक अर्ब ५० करोड रुपैयाँ पनि खर्च नभएको सूचना अधिकारी पौडेलले बताए ।