अवैध लागूऔषधसहित ९ जना पक्राउ

तु खबर संवाददाता
२०८१ माघ ७,सोमबार १७:१८
सांकेतिक तस्बिर

काठमाडौं । प्रहरीले देशको विभिन्न स्थानबाट लागूऔषधसहित ९ जनालाई पक्राउ गरेको छ । प्रहरीले कैलाली, मोरङ, बाँके र कञ्चनपुर जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले कैलालीको धनगढी उपमहानगरपालिका–२ भन्सार ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर १२ ग्राम ३ सय ६० मिलिग्रामसहित दुई जनालाई आइतबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका–४ उत्तरवेहडी बस्ने २४ वर्षीय अनिल लामा तामाङ र सोही उपमहानगरपालिका–१३ झलारी बस्ने १८ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र ०२००३ प ६११५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त परिणामको लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका–१२ जुगेडाबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ६ सय मिलिग्राम सहित सोही उपमहानगरपालिका–१ शिवनगर बस्ने २२ वर्षीया अस्मीता चौधरी र सोही उपमहानगरपालिका–९ बस्ने २२ वर्षीया रमिता चौधरीलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका–१३ राजपुरबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम ४० मिलिग्रामसहित डडेल्धुरा अमरगढी नगरपालिका–५ घर भएका २४ वर्षीय मीन बहादुर बिष्टलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

उता, मोरङको विराटनगर महानगरपालिका–१६ हुलासस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ८ सय १० मिलिग्रामसहित सुनसरी दुहवी नगरपालिका–४ पिपल चोक बस्ने २५ वर्षीय मोहित यादवलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यता, बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर ६ सय ४० मिलिग्राम, नियन्त्रित लागूऔषध नाइट्राजेपाम ५ ट्याब्लेट र स्पास्पेन ४ ट्याब्लेटसहित खजुरा गाउँपालिका–४ बस्ने ३० वर्षीय इकरार सारूलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज र इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी, कञ्चनपुरको भीमदत्त नगरपालिका–४ स्थित बजारबाट अवैध लागूऔषध खैरो हेरोइन १ सय ३० मिलिग्राम र चरेश जस्तो देखिने पदार्थ ३ ग्राम १ सय १० मिलिग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–७ बस्ने २८ वर्षीय सागर जोशी र सोही नगरपालिका–६ बस्ने २७ वर्षीय निरज बहादुर चन्द रहेका छन् । वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिणामको लागूऔषधसहित पक्राउ गरेको हो ।

ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।