शहिद दिवस मनाउन मूल समारोह समिति गठन

तु खबर संवाददाता
२०८१ माघ ७,सोमबार १७:५८
बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, हेटौंडा । तस्बिरः तु खबर ।

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा शहिद दिवस मनाउन मूल समारोह समिति गठन गरिएको छ । सोमबार बागमती प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेको अध्यक्षतामा बसेको सर्वदलीय बैठकबाट शहिद दिवस मनाउन मूल समारोह समिति गठन गरिएको हो ।

बैठकले यही माघ १४, १५ र १६ गते विभिन्न कार्यक्रमको आयोजना गरी भव्य रुपमा मनाउन कानुन मन्त्री एवम् सरकारका प्रवक्ता समेत रहेका लामिछानेको संयोजकत्वमा ७४ सदस्यीय मूल समारोह समितिको गठन गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीले जानकारी दिए ।

सचिव दर्जीका अनुसार, बैठकले माघ १४ गते प्रदेशको विभिन्न जिल्लामा सार्वजनिक स्थल, विद्यालय, स्थानीय बजारलगायत हेटौंडास्थित विभिन्न मन्त्रालय एवम् नगर क्षेत्रमा सरसफाई गर्ने तथा राष्ट्रिय झण्डा फरफराउने निर्णय गरेको छ ।

यसैगरी, माघ १५ गते प्रदेशका १३ जिल्लामा स्वास्थ्य शिविरको आयोजना गर्ने, जिल्लाको सबै विद्यालयहरुमा शहिदको योगदान सम्बन्धि विषयमा निबन्ध प्रतियोगिताको आयोजना गर्ने निर्णय पनि बैठकले गरेको सचिव दर्जीले बताए ।

यस्तै, माघ १६ गते शहिद दिवसको उपलक्ष्यमा हेटौंडा उपमहानगरपालिका वडा नं. ११ शहिद स्मारकमा बिहान प्रभात फेरीका साथ शहिदहरुको प्रतिमामा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रमको आयोजना गर्ने आजको सर्वदलीय बैठकले निर्णय गरेको उनले बताए ।