मकवानपुरका प्रकाशले गरे विद्यालयलाई न्यानो कपडा सहयोग

तु खबर संवाददाता
२०८१ माघ ७,सोमबार १८:२३

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर २ का प्रकाश स्याङ्तानले आफ्नो जन्मदिनको अवसरमा एक विद्यालयलाई न्यानो कपडा सहयोग गरेका छन् ।

सोमबार मनहरी–२, भुन्द्रुङ्गटाँडीमा अवस्थित श्री सीता माध्यमिक विद्यालयमा अध्ययनरत् कक्षा १ देखि ५ सम्मका करिब ४० जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको हो ।

स्याङ्तान हाल दक्षिण कोरियामा छन् । पढ्नकै लागि पर्सा जिल्लाको सिमाना मनहरीको भिमानदेखि करिब ३ घण्टा हिँडेर आउनुपर्ने विद्यार्थीलाई लक्षित गरेर विद्यालयलाई सहयोग गरेको स्याङ्तानले बताए ।

जन्मदिनमा गरिने फजुल खर्चलाई बालबालिकाको हितका लागि प्रयोग गरेको उनको भनाई छ ।

सानो छँदा विद्यालयमा पढ्न आफुले गर्नुपरेको संघर्ष र अन्य साथीहरुको पनि बाध्यता र संघर्ष देखेका उनले विद्यार्थीहरुलाई थोरै भएपनि  सहयोग गर्न पाएको भन्दै  खुसी व्यक्त गरे ।

सो क्रममा बोल्दै उक्त विद्यालयका अध्यक्ष राजकुमार थिङले जन्मदिनमा सामाजिक कार्यमा जोड दिने स्याङ्तानबाट अहिलेका युवाहरूले पाठ सिक्न सक्ने बताए । साथै उनले स्याङ्तानलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै खाले सहयोगको अपेक्षा राखेको बताए ।

विद्यालयका प्रधानाध्यापक दुधलाल घलानको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।