मउवा संघको सदस्य र सल्लाहकार मनोनित

तु खबर संवाददाता
२०८१ माघ ८,मंगलवार १०:१६

मकवानपुर । मकवानपुर उद्योग वाणिज्य (मउवा) संघको कार्यसमिति सदस्य र सल्लाहकार मनोनित भएका छन् । संघको सोमबार बसेको कार्यसमिति बैठकले कृष्णप्रसाद घिमिरेलाई कार्यसमिति सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो ।

यस्तै, बैठकमा संघको सल्लाहकारमा ८ जनालाई मनोनित गरेको छ । जसमा आनन्दराम पराजुली, सरोज खनाल, सन्तोषकुमार अर्याल, नरेन्द्र भण्डारी, नरोत्तम दाहाल, हिरालाल श्रेष्ठ, बालगोपाल कंडेल र ईन्द्र नेपाल रहेका छन् ।

मकवानपुर उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा दीपक उप्रेती चयन भएका छन् । कार्यकालको आधारमा वरिष्ठ उपाध्यक्ष चयन हुने प्रावधान रहेको छ । यस्तै, संघको अध्यक्ष सल्लाहकारमा विष्णुहरि पण्डित र महिला सभापतिमा सीतादेवी भेटवाल चयन भएको महासचिव प्रतिमा श्रेष्ठले जानकारी दिइन् ।

तर, मनोनित सदस्यतर्फ महिला कोटाको एक जना बाँकी रहेको छ । महिला सभापतिको विषयमा बैठकमा विवाद भएको थियो । महिला सभापति वरिष्ठताको आधारमा निलम पाण्डे हुनुपर्ने भएपनि त्यसलाई पूर्णरुपमा बेवास्ता गर्दै नयाँ कार्यसमिति अगाडि बढेको आरोप लगाइएको छ ।

स्रोतका अनुसार पाण्डेले बैठकमा आफ्नो फरक मत राखेकी छन् । उनले मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गर्ने तयारी गरेको बुझिइएको छ ।

उपाध्यक्षहरुको वरिष्ठता समेत तोकिएको छ । संघको एशोसियटतर्फको सचिवमा बराबर मत प्राप्त गरेका नेत्रप्रसाद खतिवडा र राजाराम कार्कीले आधा आधा कार्यकाल पदमा रहेर काम गर्ने भएका छन् । डेढ वर्ष खतिवडाले बाँकी कार्यकाल कार्कीले सचिवको रुपमा काम गर्ने सहमति भएको छ ।

गत पौष २४ देखि २७ गतेसम्म भएको संघको ५४ औं साधारणसभा तथा अधिवेशनले रानाभाटको नेतृत्वमा ३ वर्षीय कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको थियो । रानाभाटले अध्यक्षका अर्का उम्मेदवार अनिल अग्रवाललाई पराजित गरेका थिए ।