हेटौंडा–१ लाई बालमैत्री वडा घोषणा गरिँदै

तु खबर संवाददाता
२०८१ माघ ८,मंगलवार १७:४०

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ । विभिन्न सूचक पूरा गरेसँगै हेटौंडा–१ ले निकृष्ट बालश्रममुक्त, बालविवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारी गरेको हो ।

मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै यही माघ ११ गते शुक्रबार १ नम्वर वडालाई बालमैत्री शासनयुक्त वडा घोषणा गर्न लागेको वडाध्यक्ष सविन न्यौपानेले जानकारी दिए ।

उनका अनुसार, ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराको साथ वडालाई बालमैत्री वडा घोषणा गर्न लागिएको हो ।

बालमैत्री स्थानिय शासनयुक्त वडा घोषणा मुल समारोहका संयोजक समेत रहेका उनले स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ वटा सूचकहरुमध्ये केही सूचकहरु पूरा भइसकेको र केही पूरा हुने क्रममा रहेको बताए ।

यस वडामा सामुदायिक, सँस्थागत र बाल विकास केन्द्रसहितका ६ वटा विद्यालयहरु संचालनमा छन् । साथै समुदाय स्तरमा १८ वटा बालसमुहरु, र १ वडा बाल सञ्जाल रहेको छ । जसमा ३ सय ६३ जना बालबालिकाहरु आवद्ध रहेका छन् ।

यस अभियानमा ८ बालविवाह रोकिएको छ भने विभिन्न बालश्रमिकको उद्वार गरि पारिवारिक मिलन समेत गरिएको छ ।

वडामा बालअधिकार समिति, बालसमुहहरु, बालसमुह सञ्जाल, टोलविकास सस्थाहरु, युवा क्लब, आमा समूह, वन समुह साथै विभिन्न सामुदायिक सस्थाहरु क्रीयाशिल छन् ।

सो वडालाई यसअघि पुर्ण खोप वडा, पुर्ण साक्षर वडा र खुल्ला दिसामुक्त वडा घोषणा गरिसकिएको छ ।

१९ वटा वडा रहेको हेटौंडा उपमहानगरपालिकामा पछिल्लो समयमा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने क्रम बढ्दो छ ।