असमानता विरुद्धको आवाजलाई परिणाममुखी बनाउन हेटौंडामा र्याली
हेटौँडा । असमानता विरुद्धको आवाजलाई परिणाममुखी बनाउनका लागि हेटौंडामा बृहत् र्यालीको आयोजना गरिएको छ । र्याली बुधबार गैर सरकारी संस्था महासंघ बागमती प्रदेशको आयोजनामा भएको हो ।
बुद्धचोकबाट सुरू भएको र्याली कान्तिलोकपथ र स्कुलरोड हुँदै सिमाचोमा पुगेर कोणसभामा परिणत भएको थियो । र्यालीमा पेरिस सम्झौतासमेत लागू गर्न, जलवायु संकट समाधान गर्न, सम्पत्ति कर लगाउन र आधारभूत आवश्यकता पूरा गर्ने योग्य ज्याला सुनिश्चित गर्नका लागि आवाज उठाइएको थियो ।
स्विट्जरल्याण्डमा हुने विश्व आर्थिक मञ्चको बैठकमा दबाब सिर्जना गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको गैसस महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटाले जानकारी दिइन् ।
बालबालिका, युवा, महिला, मधेशी, आप्रवासी कामदार, मजदुर, साना किसान, लैङ्गिक तथा यौनिक समुदाय र विपद् पीडितहरूको असमानताविरुद्ध एकीकृत आवाज उठाउँदै सातै प्रदेशमा गैससको आयोजनामा यो कार्यक्रम गरिएको गैसस बागमती प्रदेशका कार्यवाहक अध्यक्ष कमल विश्वकर्माले बताए ।
कार्यक्रममा महासंघका केन्द्रीय सचिव बुद्धशरण लामा, राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश प्रमुख पवन कुमार भट्ट, नेपाल पत्रकार महासंघ मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारीलगायतका व्यक्तिहरूको सहभागिता रहेको थियो ।