नालीमा घोप्टो परेको अवस्थामा मृत भेटिए हेटौंडाका बल
मकवानपुर । मकवानपुरको हेटौंडामा बुधबार एक जनाको शव फेला परेको छ । जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९, लामसुरेस्थित सिमेन्ट फ्याक्ट्रिको मोडको नालामा एक जनाको शव भेटिएको हो ।
उक्त शव हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३ बस्ने अन्दाजी ६२ वर्षीय मिनबहादुर बलको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, मृतक बलको शव नालीमा घोप्टो परेको अवस्थामा भेटिएको थियो ।
प्रारम्भिक अनुसन्धान तथा मुचुल्का उठाई शव पोष्टमार्टमको लागि हेटौंडा अस्पतालको शव गृहमा ल्याइएको र घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।