‘अनुभूतिका आँखाहरू’को बोध र अभिव्यक्ति
प्रवेश
मकवानपुरे साहित्यिक उर्वरभूमिमा सिर्जनामा रमाइरहेका सर्जक हुन् सेवा निवृत्तअध्यापक ऋषिराम पोखरेल ‘बकिमहे’ । बकिमहे संक्षेप हो पोखरेलको जन्मस्थल बटेश्वर, हुर्केको ठाउँ किसाननगर तथा जीवनवृत्तिको भूमि मकवानपुर हेटौँडाको । दशकौँदेखि साहित्य सिर्जनामा रहेका, फाट्टफुट्ट प्रकाशन गर्दै आएका पोखरेलको पहिलो प्रकाशित कृति हो – ‘अनुभूतिका आँखाहरू’ । कथाजस्तो लाग्ने यथार्थ, यथार्थको परिपाक भएको कथा, अत्यन्त तीव्र व्यंग्यात्मकता र अनुभवको विशाल परिवेशमा प्रस्तुतिको उकुसमुकुसले भरिएको प्रस्तुत ‘अनुभूतिका आँखाहरू’ विधाभञ्जनको सजीव सिर्जन हो ।
विषयवस्तु
‘निम्ता एक: चिन्ता अनेक’ भोगाइको चोटमा भाषाको चमत्कार मिसाई यथार्थको मिठो परिपाक तयार पारिएको रचना हो । निम्तासित सम्बन्धित त हुँदै हो तर यसले सम्वेदनशील पक्षहरुलाई छोएको छ । ‘बिग्रेको स्कुल’मा कर्तव्यबोधभन्दा दोषारोपणको संस्कारलाई चिरफार गरिएको छ । शिक्षकलाई धेरै किसिमले बहाना मात्र चाहिन्छ । शिक्षकले चाहे विद्यालय सप्रन्छ तर सम्पूर्णतः दोषी शिक्षक नै होइनन् । ‘भान्दाइ’मा समाजको सुन्दर यथार्थ चित्रण गरिएको छ । व्यंग्य र तीक्ष्ण सम्वेदनको सुन्दर परिपाक हो हेटौँडाबाट काठमाडौँका लागि गरिएको ‘अविस्मरणीय यात्रा’ । परम्परा र घमन्डले पारिवारिक विघटन हुने तथा विज्ञानलाई स्वीकार्दा संयोगको सुख प्राप्त हुने कथा हो ‘दसैंको बलि’ । अन्ततः अभिमान र रुढीले बलि चढ्नुपरेको छ । इमानदार व्यक्ति ‘गुरु’प्रति गरिएको एउटा आशंकाले जीवनभर पछुतो गर्नुपरेको उत्सुकताजन्य उत्कृष्ट कथा हो ‘मोबाइल फोन’ ।
कार्यक्रमको चलन बिगार्ने तथा योगदान नहुँदा पनि अनि निर्धारित समयमा कहिल्यै नपुग्ने प्रमुख अतिथि राखेर पनि भएको हो । प्रमुख अतिथि कस्लाई र किन राख्ने तथा कस्तो कस्तो समस्या आउँछ ? यही विषयमाथि प्रहार गरिएको व्यंग्य हो –‘प्रमुख अतिथि’ । ‘सुनको सिक्री’ कथामा कतिपयको सामान राखेर बिर्सिने र अरुमाथि चोरीको आशंका गर्ने बानीको चिरफार गरिनुका साथै आफन्तहरुबिच हुने रिसरागबारे पनि मसिनो गरी चर्चा गरिएको छ । ‘चमनसिंह चतुरगामीको चर्तिकला’ राजनैतिक क्षेत्रका विकृति तथा विसंगतिमाथि केन्द्रित छ । परिवर्तन भनेको परिवर्तन भइरहनेको लागि मात्र भएको निष्कर्ष यसमा रहेको छ । ‘नयाँ भर्ना’ विद्यालयमा विद्यार्थी भर्नाको समयमा हुने चलखेलको चिरफार गरिएको छ । सोर्सफोर्स हुनेले सुविधा पाउने र नहुनेले पाउनुपर्ने सुविधा पनि नपाउने कुरा यसमा उल्लेख गरिएको छ । ‘त्यो वर्षको मेरो तिहार’ संस्मरणात्मक आलेख हो । यसमा यथार्थको आलोकमा ग्राम्य जीवनतर्फको आकर्षण देखाइएको छ । ‘आँधीमय त्यो साँझ’मा आँधी आएको एक साँझ एउटा होटलमा बाध्यतावश पस्नुपर्दाको अवस्थामा देखिएको र भोगिएको दृश्य तथा भएको सम्वाद रहेका छन् । एक वकिलले कसरी पैसा कमाउँछ भन्ने कुरा देखाउँदै शिक्षकको सन्तोष र सुखलाई सुन्दर तरिकाले चित्रण गरिएको छ । हास्यव्यंग्यका साथै कथानक र विषयवस्तु सबै दृष्टिकोणले स्तरीय कथा हो – ‘मुर्गा’ । यो शिक्षाप्रद कथा पनि हो । ‘अकाल मृत्युलाई निम्तो’मा नेपाली राजनैतिक इतिहासको एउटा विराट पीडाको प्रकटीकरण रहेको छ । ‘एकादेशकी रानी र हाम्रो वर्तमान शिक्षा’ विचार प्रधान आलेख हो । ‘समृद्धि कि सर्वनाश’ मा पनि मुख्यतः शिक्षा र समाजलाई विषय बनाइएको छ । यो पनि विचार हो । ‘सुख, सम्बन्ध र बुझाइ’को बारेमा लेखकले सकारात्मक सम्बन्ध र सोचाइलाई मान्नुपर्ने अवधारणा राखेका छन् ।
‘एउटा जित्नैपर्ने युद्ध’ बालबालिकाप्रति समर्पित छ । बालबालिकालाई सपार्नु अभिभावकको कर्तव्य हो तर अधिकांश अभिभावक मुख्यतः सम्पत्ति कमाउनतिर ध्यान दिने कुरालाई यसमा स्वीकार गरिएको छ । स्वाभिमानको बलि चढाएर मानिस ठुलो हुने ढ्वाङकै चक्रव्यूहमा फसेको देखिन्छ । एकले अर्कोलाई सम्मान र गुनगान गर्नुलाई राम्रो मान्नुभन्दा दशकौँ शिक्षण पेसा खर्चिएको उमेरसँगै शिष्यहरुले गर्ने सम्मानप्रति गर्वबोध हुने यथार्थको प्रस्तुति छ ‘पर्म’मा । भक्तहरुलाई भुलभुलैयामा राख्ने कलालाई बकिमहेले मानेको ‘हनुमान भक्तहरू’ रचना संक्षेपमा पनि स्तरीय छ । ‘पद महात्म्य’ व्यंग्यप्रधान आलेख हो । पदमा पुगेपछि र पैसा कमाएपछि धेरै दोष पनि साफ हुने रहेछ भन्ने बेथितिप्रति कटाक्ष गरिएको छ । ‘आफूलाई माया गर्नुको अर्थ’मा जबसम्म मानिस दुव्र्यसनमुक्त हुँदैन तबसम्म आफूलाई साँचो अर्थमा माया नगर्ने कुरालाई आत्मपरक किसिमले विभिन्न दृष्टान्तसाथ पुष्टि गरिएको छ । यथार्थको धरातलमा धेरै पीडाजन्य अनुभवहरुको धागोले उनिएको रचना ‘चप्पल’मा गलत कामको नतिजा पनि गलत नै हुने बताइएको छ । यसमा इतिहासको कुनै खालखण्डको छनक पनि पाइन्छ । ‘एउटा छोटो यात्राले उधिनेको मेरो बालापन’ लेखकको बाल्यकाललाई सम्झाउने संस्मरणात्मक नियात्रा हो । बाल्यकाल बिताएको ठाउँमा लेखक आफ्नो अवकाशपछि पुगेको तथ्यलाई रोचकतासाथ वर्णन गर्दै स्मृतिहरुलाई पनि सुन्दर किसिमले सजाएका छन् । अनि ‘अतीतको यात्रा’ले एक विद्यार्थीको निम्तोलाई मानेर कार्यव्रmममा पुग्दा भएको गौरवबोधलाई प्रस्तुत गरिएको छ । वर्तमानलाई अतीतसित स्मृतिले नै जोड्ने रहेछ भन्ने यथार्थलाई मार्मिक तरिकाले यसमा प्रस्तुत गरिएको छ । ‘घरको माया’ कसलाई पो नहोला ? घडेरी किन्दादेखि घर बनाउँदासम्मको दुःखको कुरो आत्मपरक शैलीमा प्रस्तुत गरिएको यस ‘घरको माया’ले मनलाई छोएको छ । घरको मूल्य र मान्यतालाई पनि यस आलेखले आफूमा समाहित गरेको छ ।
विकृति र विसंगतिको चिरफार गर्दै इमानदारीको दृष्टान्त दिने एक कथा हो – ‘ डट.डट.कामरेड !’ । सबैको गाथा एकै किसिमको हुने रहेनछ । सबै कुरो राजनीतिबाट निसृत हुन्छ । राजनीति सुध्रेमा मात्र समाजको अन्य क्षेत्र सुध्रिने निष्कर्ष रहेको छ ‘कुशासन कि राजनीति’को । यो राजनीति केन्द्रित वैचारिक आलेख हो । चतुरको अगाडि कसैको केही चल्दैन । जनतालाई झुक्याउन जान्ने अर्थात् मुर्गा बनाउन जान्ने नै सबैभन्दा होसियार हो । ‘लोकल कुखुरा’ले टर्रो स्वाद दिएको छ । ‘चियाको चुस्कीसँगै उठेका तर्क र तथ्यहरू’मा गर्न चाहनेको लागि स्वदेशमै धेरै काम भएको बताइएको छ । देश विकास भाषणले हुँदैन र अन्य देशमा गएर पनि देशको बारेमा कुरो गरेर देश बन्दैन । बाहिर बसेर देश बिग्रेको देख्नेहरुले स्वदेशमा आएर परिश्रम र इमानले देश बनाउन भूमिका निर्वाह गर्नु उचित हुन्छ ।
निष्कर्ष
कृतिकार बकिमहेले ‘अनुभूतिका आँखाहरू’ कृतिलाई ‘अनुस्मरण’ भनेका छन् । ‘अनुभव’ र ‘स्मरण’ को संयुक्त रूप ‘अनुस्मरण’ हुनुपर्छ । यो कतै नयाँ विधा वा उपविधा हो कि ? कृतिको विधालाई ‘अनुस्मरण’ भनिए पनि यसमा ‘संस्मरण’, ‘नियात्रा’, ‘कथा’, ‘हास्यव्यंग्य’ तथा ‘लेख निबन्धहरू’ समेटिएका छन् । कृतिकारले सयौँ उखानटुक्काको उपयोग गरेर आफ्नो भनाइलाई प्रभावकारी बनाएका छन् । अभिव्यक्तिमा मौलिकता रहेको देखिन्छ । मनभित्रबाट हुँडलिएर आउने भावको प्रवाहलाई लेखकले सहज तरिकाले पोख्ने प्रयास गरेका छन् । कृतिकारभित्र भावको उकुसमुकुस देख्न सकिन्छ ।
मुख्यतः हेटौँडेली परिवेशमा अधिकांश रचना रहेका छन् । घटना र पात्र काल्पनिक वा यथार्थ जे भए पनि कृतिकारले आफूले भन्नुपर्ने कुरो सिधा र स्पष्ट रुपमा भन्न सकेका छन् । राजनैतिक क्षेत्रका विकृति र यसका उपजीव्य उपविकृतिहरुलाई लेखकले सिस्नुपानी लाएका छन् ।
साहित्यका विभिन्न विधा छन् र हरेक विधाका विभिन्न मान्यताहरु हुन्छन् । साहित्यकारले सिर्जनाको समयमा विधाका सीमाहरुलाई उल्लंघन गर्नुलाई सामान्य मानिन्छ । यसैले लेखक आफैँमा अराजक पनि हुन्छन् । यो नवीनता र मौलिकता पनि हो । यद्यपि कृतिलाई खिँचडी बनाउनदेखि जोगिनुपर्छ । सम्भव भएसम्म एकै विधाका सिर्जनालाई कृतिमा समावेश गरेको राम्रो । बकिमहेमा उच्च कोटिको व्यंग्यात्मक क्षमता, बौद्धिक र तार्किक राजनैतिक चिन्तन, समाजलाई बुझ्न सक्ने र अभिव्यक्त गर्न सक्ने दृष्टिकोण रहेको यस कृतिबाट प्रमाणित हुन्छ । निम्न वर्गप्रति सदाशयता र शोषक वर्गप्रति आक्रोश राख्ने लेखक समतापूर्ण समाजको निर्माण चाहन्छन् । बकिमहेको प्रस्तुत ‘अनुभूतिका आँखाहरू’ कृति भाषा, कला तथा विचार सबै दृष्टिले पठनीय र संग्रहणीय रहेको छ । देशकै प्रतिष्ठित शैक्षिक संस्था ‘हेटौँडा स्कुल अफ म्यानेजमेन्ट’ले यस्ता चेतनाजन्य कृतिहरु प्रकाशन गर्दै जानुपर्छ ।
(साहित्यमा मकवानपुरको महक: शृङ्खला ३० का लागि साभार)