‘हेटौंडाले स्वास्थ्य क्षेत्रमा ठूलो फड्को मार्यो’
मकवानपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले हेटौंडाले स्वास्थ्य सेवाको क्षेत्रमा ठूलो फड्को मारेको बताएका छन् ।
लायन्स ऋतम्भरा वैकल्पिक स्वास्थ्य प्रतिष्ठानको पुनर्नवा अस्पताल भवन शिलान्यास कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्री थापाले हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत ल्याएपछि सेवा सुधार भएको र थप प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।
विगतमा हेटौंडा अस्पताल रिफर सेन्टरको रूपमा चिनिएको भएपनि प्रतिष्ठान अन्तर्गत गएपछि विशेषज्ञ सेवा थपिँदै सेवा प्रभावकारी बनेको उनको भनाई छ । उनले हेटौंडा मात्र नभई बागमती प्रदेशका सबै अस्पतालमा सेवाग्राहीको भिड देखिन थालेको भन्दै अझ प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको बताए ।
आयुर्वेद अस्पताल र अन्य अस्पतालहरूको विस्तार पनि सरकारको प्राथमिकतामा रहेको भन्दै मन्त्री थापाले तिलगंगा आँखा प्रतिष्ठानसँगको सहकार्यमा प्रत्येक जिल्लामा आँखाको उपचार सेवा पुर्याइने बताए ।
साथै उनले व्यक्तिगत रूपमा पुनर्नभा अस्पताल निर्माणको लागि १ लाख सहयोग गर्ने घोषणा गरे ।
कार्यक्रम लायन्स क्लब हेटौंडाका अध्यक्ष तुलसी रिजालको सभाध्यक्षतामा भएको हो ।