हेटौंडा–३ लाई बालमैत्री वडा घोषणा गरिँदै
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ । विभिन्न सूचक पूरा गरेसँगै हेटौंडा–३ ले निकृष्ट बालश्रममुक्त, बालविवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारी गरेको हो ।
शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै यही माघ १३ गते ३ नम्वर वडालाई बालमैत्री शासनयुक्त वडा घोषणा गर्न लागेको वडाध्यक्ष ढलकबहादुर थापाले जानकारी दिए ।
उनका अनुसार, ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराको साथ वडालाई बालमैत्री वडा घोषणा गर्न लागिएको हो ।
उनले स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ वटा सूचकहरुमध्ये केही सूचकहरु पूरा भइसकेको र केही पूरा हुने क्रममा रहेको बताए ।
यस वडामा कुल बालबालिका १ हजार ४ सय ९८ जना छन् । जसमा ७९३ बालक र ७०५ बालिका रहेका छन् ।
उक्त वडामा सामुदायिक र संस्थागत गरि बाल विकास केन्द्रसहित ५ वटा विद्यालयहरु संचालनमा छन् । यसैगरी, १२ वटा बाल समुहहरु र एउटा बाल सञ्जाल रहेको छ । जसमा ३०० जना बालबालिकाहरु आबद्ध छन् ।
१९ वटा वडा रहेको हेटौंडा उपमहानगरपालिकामा पछिल्लो समयमा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने क्रम बढ्दो छ ।