सहिद दिवसको अवसरमा सरसफाई कार्यक्रम
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ स्थित सहिद स्मारक परसरमा सरसफाई कार्यक्रमको आयोजना गरिएको छ ।
सहिद स्मारक विकास समितिद्वारा आयोजित सप्ताहव्यापी कार्यक्रमअन्तर्गत तेस्रो दिन शनिबार बिहान विशेष सरसफाई कार्यक्रमको आयोजना गरेको समितिका सचिव रघुनाथ खुलालले जानकारी दिए ।
सरसफाइ कार्यक्रममा एमाले बागमती प्रदेश कमिटी सदस्य गोपालबहादुर श्रेष्ठ, हेटौंडा सिमेन्ट उद्योगका अध्यक्ष नरेन्द्र भण्डारीलगायतको उपस्थिति रहेको थियो ।
समितिले सप्ताहव्यापी कार्यक्रमअन्तर्गत माघ १३ गते बिहान साढे ७ बजे नेपाल रेडक्रस सोसाइटी हेटौंडा–११ शाखाको व्यवस्थापनमा रक्तदान कार्यक्रम, माघ १४ गते बिहान साढे ७ गते लखन वाटीका व्यवस्थापन समितिको व्यवस्थापनमा प्रथम सहिद लखन थापा वाटीका हेटौंडा–१२ मा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गर्ने सचिव खुलालले बताए ।
यस्तै, माघ १५ गते मदन भण्डारी फाउण्डेशनको व्यवस्थापनमा “लोकतन्त्र प्राप्तीका लागि राजनितिक दलको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिताको आयोजना, नगर स्तरीय बाल क्लब सहभागी र शिक्षक दौड प्रतियोगिता, शिक्षक संगठनको व्यवस्थापनमा महिला शिक्षकको स्लो स्कुटर प्रतियोगिता र बागमती प्रदेश सरकारको समन्वयमा माघ १६ गते बिहान साढे ७ बजे प्रभातफेरी, सहिद प्रति सलामी (नेपाल प्रहरी, नेपाली सेना), पुष्पार्पण श्रद्धान्जली सभा र सम्मान कार्यक्रमको आयोजना गरी सप्ताहव्यापी कार्यक्रमको समापन गरिने सचिव खुलालले बताए ।
समितिले माघ १० गते राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी सप्ताहव्यापी कार्यक्रमको शुभारम्भ गरेको थियो भने माघ ११ गते शुक्रबार पत्रकार भेटघाट तथा बधाई कार्यक्रमको आयोजना गरेको थियो ।
उक्त समितिले हरेक वर्ष माघ १० गतेदेखि १६ गतेसम्म सहिदहरुको सम्झनामा विविध कार्यक्रमको आयोजना गर्दै आएको छ ।