हेटौंडामा आजबाट राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुँदै

तु खबर संवाददाता
२०८१ माघ १३,आईतवार ०९:१९

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा २५ औं राष्ट्रिय बुद्धिचाल तथा १० औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुँदैछ ।

उक्त प्रतियोगिता नेपाल बुद्धिचाल महासङ्गको प्रमुख आयोजना तथा मकवानपुर जिल्ला बुद्धिचाल संघ र हेटौंडा चेस क्लबको व्यवस्थापनमा हुन लागेको हो ।

नियमित राष्ट्रिय प्रतियोगिता गरी खेलाडीहरुको प्रतिभालाई प्रष्फुटन गर्दै अन्तराष्ट्रिय जगतमा मुलुकको पहिचान गराउने प्रतियोगिताको मुख्य लक्ष्य रहेको संघका महासचिव तथा कार्यक्रम संयोजक धरम बहादुर लामाले जानकारी दिए ।

माघ १९ गतेसम्म संचालन हुने उक्त प्रतियोगितामा दुवै विधातर्फ नै पूर्वनिर्धारित फम्र्याट अनुसार सिनियर नेशनल च्याम्पियनका शीर्ष ३ खेलाडी र नेशनल ‘बी’ बाट छनोट भएका उत्कृष्ट ९ खेलाडीबीच जम्मा ११ चरणको खेल प्रतिस्पर्धा हुनेछ ।

पुरुषतर्फ नेसनल च्याम्पियन, दोस्रो र तेस्रो भएका क्रमशः राजन सुवेदी, सुश्रुत दाहाल, क्षितिज भण्डारीसहित नेसनल ‘बी’ बाट छनोट भएका पुरुषोत्तम सिलवाल, आशिष फुयाँल, रुपेश जैसवाल, विनय थापा, सुरोज महर्जन, धीरेन राई, सीएम नवीन तण्डुकार, रिजेन्द्र राजभण्डारी र प्रेम कृष्ण मर्हजनले प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै, महिलातर्फ नेशनल च्याम्पियनसिपका शीर्ष स्थानका विजेता क्रमशःसिन्दिरा जोशी, कृतिसरा अधिकारीसहित विनिता कपाली, लक्ष्मी कँडेल, इशा गिरी, शान्ति धिमाल, दानिशा पुरी, सुशीला गुरुङ, पुनम प्रसाईं र एञ्जल महर्जनले प्रतिस्पर्धा गर्नेछन् ।

विजेता खेलाडीलाई आगामी वर्ष उब्जेकिस्तानमा हुने चेस ओलम्पियाडमा सहभागी गराइने आयोजकले जनाएको छ ।