पूर्वाधार विकास समितिको बैठक स्थगित
रमेश फुलेल
काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको गणपूरक संख्या नपुग्दा पूर्वाधार विकास समितिको बैठक स्थगित भएको छ । बुधवार बिहान साढे ११ बजेका लागि बोलाइएको बैठकमा सांसदहरूको गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको हो ।
समिति बैठक बस्नको लागि १४ जना सांसद आवश्यक भए पनि १२ जना मात्रै सांसद उपस्थित भएपनि बैठक स्थगित गरेको समिति सभापति दीपक सिंहले जानकारी दिए ।
सहीद दिवस र सार्वजनिक विदा भएकाले सांसदहरू बाहिर जिल्ला जानुपर्ने भएकाले पनि नेपाली कांग्रेसका सांसदहरूले बैठक सार्न आग्रह गरे पनि बैठक बोलाइसकेकाले स्थगित गर्न नसकिएको उनको भनाई छ ।
उनका अनुसार, बैठकमा नेपाली कांग्रेसका दुई, एमालेका पाँच, माओवादीका एक, राप्रपाका दुई जना, जसपाबाट १ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट दुई जना नै अनुपस्थित भएका थिए । सो बैठकमा यही माघ २४ गते बिहान साढे ८ बजेका लागि बोलाउने निर्णय भएको उनले बताए ।