पाँच विधेयक पेश, सैद्धान्तिक पक्षमाथि छलफल
![](https://www.tukhabar.com/wp-content/uploads/2025/02/pradeshsabha_bagamati.jpg)
मकवानपुर । बागमती प्रदेश सभाको आज दुई वटा बैठक बसेको छ । बैठक प्रदेशको राजधानी हेटौंडास्थित प्रदेश सभा सचिवालयको कार्यालयमा बसेको हो ।
आज बसेको पहिलो बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत गर्न ल्याइएको विभिन्न प्रकारको चार वटा विधेयक र प्रदेश प्रमुखको कार्यालयबाट फिर्ता आएको एउटा विधेयक पेश गरिएको थियो ।
बैठकमा ‘मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक’, ‘प्रदेश खेलकुद विकास ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक’, ‘प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ र ‘प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ पेश गरिएको हो ।
बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री किरण थापा मगरको तर्फको श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक र युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले प्रदेश खेलकुद विकास ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक सभामा पेश गरेका थिए ।
यसैगरी, बैठकमा उद्योग, भूमी तथा प्रशासन मन्त्री शुकमाया तामाङले प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक र प्रोदशिक व्यापार तथा व्यवसाय सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक सभामा पेश गरेकी थिइन् ।
सोही बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको कार्यालयबाट सन्देशसहित फिर्ता आएको प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सभामा पेश गरेका थिए ।
यस्तै, आजै बसेको प्रदेश सभाको दोस्रो बैठकमा ती चार वटै विधेयकमाथि सौद्धान्तिक पक्षमा छलफल गरिएको थियो । बैठकमा ती विधेयकहरुमाथि प्रदेश सभाका सदस्यहरु क्रमशः रत्नप्रसाद ढकाल र प्रेम बहादुर पुलामीले विधेयकहरु संशोधन गर्नुपर्ने विभिन्न दफाहरुको औचित्यमाथि विभिन्न समितिमा छलफल गरी संशोधन ल्याउनुपर्नेतर्फ आ–आफ्नो धारणा राखेका थिए ।
सोही बैठकमा स्वास्थ्य मन्त्री थापाको तर्फबाट श्रम मन्त्री महर्जन, खेलकुद मन्त्री महर्जन, उद्योग, भूमी तथा प्रशासन मन्त्री तामाङले छलफलको क्रममा उठेका विभिन्न प्रश्नहरुको जवाफ दिएका थिए ।
बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट सन्देशसहित फिर्ता आएको प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि भने छलफल भएन । सो विधेयक सभामा पेश भएपनि छलफलमा कुनैपनि प्रदेश सभाका सदस्यहरुले नाम टिपाएनन् ।
उक्त बैठकमा नेपाली काँग्रेसका प्रदेश सभाका सदस्य तीर्थ लामाले गत असोज ११ र १२ गते आएको भिषण बाढीपहिरोबाट प्रदेश काभ्रे जिल्लाको विभिन्न गाउँपालिकाहरुमा सर्वसाधारणको धनजनको क्षति हुनुका साथै सडक, पक्की पुल, विद्यालयहरुमा पुर्याएको क्षतिलाई प्रदेश सकारकाले तत्काल पुर्नबासको व्यवस्था गर्नुपर्ने माग गरे । उनले भौतिक पूर्वाधार विकासको निर्माण कार्य सूचारु राख्न आवश्यक बजेट र जनशक्ति उपलब्ध गराइदिनुपर्यो भनि राष्ट्रिय सरोकारको विषयमा प्रदेश सभाबाट सरकारलाई ध्यानाकर्षण गराएका हुन् ।
प्रदेश सभाको अर्को बैठक भोलि माघ २४ गते बस्ने प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।
प्रदेश सभाको पन्ध्रौं अधिवेशन बैठक यही माघ १८ गतेबाट सुरु भएको हो ।