अवैध लागूऔषधसहित २३ जना पक्राउ

तु खबर संवाददाता
२०८१ माघ २९,मंगलवार १४:५८

काठमाडौं । अवैध लागूऔषधसहित प्रहरीले देशको विभिन्न स्थानबाट २३ जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं, बारा, कैलाली, कास्की, कपिलवस्तुत, मोरङ, बाँके, सिराहा, झापा, सुर्खेत र कञ्चनपुर जिल्लाको छुट्टाछुट्टै स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले काठमाडौंको कीर्तिपुर नगरपालिका–७ ईटागोल बस्ने ७५ वर्षीय जितबहादुर महर्जन समेत ३ जनालाई अवैध लागूऔषध गाँजाको धुलो २ किलोग्रामसहित सोमबार बेलुकी पक्राउ गरेको छ । प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले महर्जनको घरबाट उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यस्तै, बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ पथलैयाबाट अवैध लागूऔषध गाँजा करिब ४ किलो ५ सय ग्रामसहित भारत बिहार राज्य बेतिया ग्राम भवरा–८ बस्ने ४५ वर्षीय बिजय श्रीवास्तवलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले नारायणघाटबाट वीरगंजतर्फ आउँदै गरेको ना. ६ ख ५३०९ नम्बरको बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

यस्तै, कैलालीको धनगढी उपमहानगरपालिका–२, ब्यारेल नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन ८ सय ९० मिलिग्रामसहित सोही उपमहानगरपालिका–५ बस्ने २२ वर्षीय खगेन्द्र चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगर कैलाली र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी कैलालीबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यसैगरी, कैलालीको धनगढी उपमहानगरपालिका–८ धनगढीगाउँबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ४ सय ७० मिलिग्रामसहित सोही ठाउँ बस्ने २८ वर्षीय नरेश चौधरीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली, गोदावरी नगरपालिका–५ गेटाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने २७ वर्षीय महेश रानालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त परिणामको लागूऔषधसहित पक्राउ गरेको हो ।

उता कास्कीको पोखरा महानगरपालिका–१७ महतगौडाबाट नियन्त्रित लागूऔषध फेनारगन ९ एम्पुल, नाईट्राभेट ९ एम्पुल र नुर्फिन ९ एम्पुलसहित पोखरा महानगरपालिका–८ सृजनाचोक बस्ने २७ वर्षीय बिरेन्द्र थापा मगर समेत ४ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यता, कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ लिङ्गेटबाट अवैध लागूऔषध ब्राउनसुगर २ सय ६० मिलिग्रामसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेश सिदार्थनगर दुधवानिया ग्राम बुजुर्ग पोष्ट बस्ने ३४ वर्षीय इकरामुद्दिन र १९ वर्षीय नसिम खान रहेका छन् । अस्थायी प्रहरी पोष्ट लिङ्गेटबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको एमएच ०२ सिडि १५२६ नम्बरको कारलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी कार चालक नसिम र कारमा सवार इकरामुद्दिनलाई पक्राउ गरेको हो ।

त्यस्तै, मोरङको बिराटनगर महानगरपालिका–१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन २ ग्राम ४० मिलिग्रामसहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उर्लाबारी नगरपालिका–२ सुनझोडा बस्ने २९ वर्षीय राजेश धिमाल र २८ वर्षीय निशान राई रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

बाँकेको बैजनाथ गाउँपालिका–३ पातिकाल्नाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७० मिलिग्रामसहित सोही ठाउँ बस्ने २३ वर्षीय उदय परियारलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनकटवाबाट खटिएको प्रहरीले उनलाई उक्त परीणामको लागूऔषधसहित पक्राउ गरेको हो ।

सिराहाको सिरहा नगरपालिका–७ ट्राफिक चोकबाट नियन्त्रित लागूऔषध नाईट्रभेट ९४ ट्याब्लेटसहित सर्लाहीको मलंगवा नगरपालिका–१० बस्ने ३७ वर्षीय संतोष कुमार कर्णलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको प्रहरीले सिराहाबाट चौहर्वातर्फ पैदल जाँदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

झापाको बिर्तामोड नगरपालिका–६ स्यालडाँगी बस्ने २५ वर्षीय मो मुक्तार मन्सुरीलाई अवैध लागूऔषध ब्राउनसुगर ३ सय २० मिलिग्राम र गाँजा ४ ग्राम १ सय ५० मिलिग्रामसहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी बुट्टाबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

यसैगरी झापाको झापा गाउँपालिका–३ फुलगाछिबाट अवैध लागूऔषध ब्राउनसुगर ३ ग्राम ४८ मिलिग्रामसहित कन्काई नगरपालिका–३ सुरूङ्गा बस्ने २५ वर्षीय मन्जित भन्ने दर्पन वाग्लेलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनलाई उक्त परिणामको लागूऔषधसहित पक्राउ गरेको हो ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ सुब्बाकुनाबाट अवैध लागूऔषध ब्राउनसुगर ४ ग्राम ५ सय ६० मिलिग्रामसहित सोही नगरपालिका–४ बस्ने २१ वर्षीय विवेक शाही समेत २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सुब्बाकुना र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले नेपालगंजबाट सुर्खेततर्फ आउँदै गरेको क.प्र.००१ ज ०६५१ नम्बरको फोर्स गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेब जिरो प्वाईन्टबाट अवैध लागूऔषध चरेश करिब १२ किलोग्रामसहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बझाङ घर भएका ३५ वर्षीय महेन्द्र बहादुर रोकाया र ४२ वर्षीय अमर बहादुर रोकाया रहेका छन् । इलाका प्रहरी कार्यालय ब्रह्मदेबबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिणामको लागूऔषधसहित पक्राउ गरेको हो ।

ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।