निर्वाचन आयोगमा ८२ दलले बुझायो दलको लेखा परीक्षण

तु खबर संवाददाता
२०८१ माघ ३०,बुधबार १०:०२

काठमाडौं । निर्वाचन आयोगमा ८२ राजनीतिक दलले आय–व्ययको लेखा परीक्षण प्रतिवेदन बुझाएका छन् ।

आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले माघभित्र आर्थिक वर्ष २०८०–०८१ को लेखा परीक्षण प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था छ ।

पुसभित्र लेखा परीक्षण गराउनुपर्ने र लेखा परीक्षण गराएको एक महिनाभित्र आयोगमा प्रतिवेदन बुझाउनुपर्ने कानूनी व्यवस्था रहेको छ ।

आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन शाखाका अनुसार, असारसम्म दर्ता कायम रहेका ११९ राजनीतिक दलमध्ये मंगलबारसम्म ८२ दलले आय–व्ययको लेखा परीक्षण प्रतिवेदन बुझाएको हो ।

आयोगका प्रवक्ता नीता पोखरेलले माघ ३० गते बुधबारसम्म लेखा परीक्षण प्रतिवेदन बुझाउने म्याद रहेको र सो म्यादपछि आयोगले लेखा परीक्षण प्रतिवेदन नबुझाउने दलको हकमा आवश्यक निर्णय गर्ने बताए ।

राजनीतिक दलसम्बन्धी ऐन–२०७३ को दफा ४१ ले दलले आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र आफ्नो आय र व्ययको लेखा परीक्षण कानून बमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट लेखा परीक्षण गराई एक महिनाभित्र पेस गर्नुपर्ने व्यवस्था छ ।

लेखा परीक्षण नगराएमा वा लेखा परीक्षण प्रतिवेदन आयोगमा नबुझाएमा वा लेखा परीक्षण बुझाउन आयोगले निर्देशन दिए पनि सो अवधिभित्र लेखा परीक्षण पेस गर्नुका साथै स्पष्टीकरण पेस नगरेमा कानून बमोजिम आयोगले २० हजार रुपियाँसम्म जरिबाना गर्न सक्ने छ ।