२ करोडको अफिमसहित मकवानपुरबाट दुई जना पक्राउ

तु खबर संवाददाता
२०८१ माघ ३०,बुधबार १५:२८

मकवानपुर । मकवानपुर प्रहरीले जिल्लाको राक्सिराङ गाउँपालिका वडा नम्वर ५ स्थित बोटबारी भन्ने स्थानबाट लागूऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ ।

अन्तर्राष्ट्रिय बजार मूल्य २ करोड रुपैयाँ भन्दा बढी मूल्य बराबरको अफिमसहित दुई जनालाई पक्राउ गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा कलैया उपमहानगरपालिका–४ बस्ने अन्दाजी वर्ष १८ का दीपक साह र सिम्रौनगढ नगरपालिका–१ बस्ने अन्दाजी वर्ष १९ का सशी मुखिया रहेका छन् ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय मनहरीको प्रहरी टोलीले मंगलवार साँझ ६ बजेको समयमा जिल्लाको राक्सिराङ गाउँपालिका वडा नम्वर ५ स्थित बोटबारी भन्ने स्थानबाट पक्राउ गरेको हो ।

प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, पैदल हिँडीरहेका उनीहरुमाथि शंका लागि चेकजाँच गर्दा कालो झोलाभित्र प्लास्टिकले बेरिएको अवस्थामा २ केजि १४० ग्राम अफिम बरामद भएपछि निजहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।