लागूऔषधसहित हेटौंडाबाट तीन जना पक्राउ
![](https://www.tukhabar.com/wp-content/uploads/2025/02/arrest-1-1-e1739357497849.jpg)
मकवानपुर । त्रिभुवन राजपथ अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १, चौकीटोलस्थित झोलुङ्गे पुल नजिकै रहेको चिया पसलबाट लागूऔषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
मंगलबार साँझ लागूऔषध खैरो हेरोइन ४ ग्राम २३० मिलि ग्रामसहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
पक्राउ पर्नेहरुमा मकवानपुरगढी गाउँपालिका–४, सामरी बस्ने वर्ष ३९ को सुबि गुरुङ, नवलपरासी पश्चिम सुस्ता गाउँपालिका–३ घर भई हाल जिल्ला मकवानपुर मकवानपुरगढी गाउँपालिका–५, स्थितमा रहेको चुन फ्याक्ट्रीमा काम गरी बस्ने वर्ष ३४ को सुरज कुमार पाण्डे र हेटौंडा–१, चौकीटोल बस्ने वर्ष ३४ को नबराज भट्ट रहेका छन् ।
प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, चिया पसलभित्र प्लास्टिकमा स–सानो पुरिया बनाई प्याकिङ गरी लिएर हिड्न लागेको गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।