हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री पालिका घोषणा गरिँदै

तु खबर संवाददाता
२०८१ फाल्गुन १,बिहीबार ०८:०८

मकवानपुर । हेटौंडा उपमहानगरपालिकालाई आज बालमैत्री पालिका घोषणा गरिँदैछ । हेटौंडालाई ‘निकृष्ट बालश्रम मुक्त, बाल विवाहमुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त पालिका’ घोषित गर्न लागिएको हो ।

यसअघि बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ र बालमैत्री घोषणा कार्यान्वयन कार्यविधि २०७९ ले १९ वटै वडा बालमैत्री वडा घोषणा भइसकेको हेटौंडालाई पालिका बालमैत्री घोषित गर्न लागिएको हो ।

हेटौंडा–५, क्याम्पाडाँडा हुने बालमैत्री घोषित कार्यक्रम उपप्रधानमन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा उद्घाटन हुनेछ । कार्यक्रमलाई नगरको गौरब, प्रतिष्ठा र शानको विषयको रुपमा लिई यस महान असिभयानलाई सम्भय र भव्य रुपमा सम्पन्न गर्न सम्पूर्ण नगरबासीहरुले आ–आफ्नो तह र तप्काबाट सहभागी भई सहयोग गर्न आग्रह गरिएको छ ।

सो अवसरमा आज नगरका संस्थागत एवम् नीजि सबै विद्यालयको पठनपाठन बन्द हुने, उपमहानगरपालिका अन्तर्गतका वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्थाबाट हुने सबै सेवा बन्द हुने उपमहानगरपालिकाले जनाएको छ ।

साथै उपमहानगरपालिकाले यसबाट नगरबासीमा पर्न गएको असुविधाप्रति हेटौंडा उपमहानगरपालिका क्षमाप्रार्थी रहेको जनाएको छ ।

हेटौंडा उपमहानगरपालिकामा १८ वर्ष भन्दा कम उमेर समूहका ५० जार १९५ जनसंख्या रहेका छन् । जसमा २६ हजार १४५ बालक र २४ हजार ५० बालिका रहेका छन् । बालबालिकाको संख्यालाई आधार मानदा ५२ दशमलव ८ प्रतिशत बालक र ४७ दशमलव ९१ प्रतिशत बालिका रहेका छन् ।

यस उपमहानगरपालिकामा २६५ टोलस्तरीय र १०६ वटा बालसमूह गरी जम्मा ३७१ वटा ३७१ बाल समूह तथा १९ वडास्तरीय र १ नगरस्तरीय गरी २० वटा बाल समूह सञ्जालसहित ३७१ वटा बालबालिकाका संरचना क्रियाशील अवस्थामा छन् । ती विभिन्न संरचनागत समितहरु समेत गरी ९ हजार २५० जना बालिबालिकाको प्रत्यक्ष सहभागिता रहेको छ ।