‘राजनीतिक परिवर्तन जोगाउन आर्थिक समृद्धिलाई ध्यान दिनुपर्छ’

तु खबर संवाददाता
२०८१ फाल्गुन १,बिहीबार १८:१५

मकवानपुर । उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीतिक परिवर्तन जोगाउन आर्थिक समृद्धिलाई ध्यान दिनुपर्ने बताएका छन् ।

बिहीबार नेपाली कांग्रेस मकवानपुरद्वारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन उपप्रधानमन्त्री सिंहले आर्थिक समृद्धिलाई नागरिकहरुले महसुश गरेको खण्डमा व्यवस्थाले स्थायीत्व प्राप्त गर्ने बताए ।

उनले व्यवस्था परिवर्तन पछिको उपलब्धीहरुलाई संस्थागत गर्नुपर्ने बताउँदै त्यसतर्फ सकरात्मक ढंगबाट अघि बढ्नुपर्नेमा जोड दिए ।

मन्त्री सिंहले नागरिकहरुको लागि लक्षित गरी संविधानले निर्दिष्ट गरेको अधिकारहरु सहज उपभोगमा सरकारले काम गर्नुपर्ने बताए । उनले नागरिकका आवश्यकता र चहाना पूरा भए मात्र राजनीति सही ट्रयाकमा आउने भएकाले त्यसमा कांग्रेसले विशेष ध्यान दिन जरुरी रहेको उल्लेख गरे ।

वर्तमान समयमा नागरिकहरुले रोजगारी र विकास निर्माणको अपेक्षा गरिरहेको र विदेशिने वातावरणको अन्त्य चाहेको भन्दै उनको सो चाहना अनुरुप सरकारले काम गरिरहेको उनले बताए ।

पार्टी भित्रको विवाद समाधान गर्न माथिल्ला संरचनाहरुसंगको समन्वयमा छलफल र सहकार्यमा जोड दिन उनले निर्देशन दिए ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य एवम् बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले, बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, पूर्व सभापति रघुरमन न्यौपाने, कांग्रेस मकवानपुरका उपसभापति एवम् बकैयाँ गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने लगायतको सहभागिता रहेको थियो ।

भेटघाट कार्यक्रम कांग्रेस मकवानपुर सभापति बुद्ध लामाको सभाध्यक्षतामा भएको हो ।