आफ्नै लगानीमा बागमतीको रंगशाला
![](https://www.tukhabar.com/wp-content/uploads/2025/02/bagamati-2.jpg)
मकवानपुर । मकवानपुरको पुर्वी क्षेत्रमा पर्ने बागमती गाउँपालिकाले आफ्नै लगानीमा फुटबल रंगशाला निर्माण गरेको छ । पालिकाको केन्द्र रहेको वडा ४ स्थित झुरझुरेमा सहिद स्मृति रंगशालाको निर्माणको काम सकेको हो । सोही रंगशालामा फागुन ३ देखि सातौं बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता हुँदैछ ।
पालिकाले गत आर्थिक वर्ष असोज १७ गते ठेक्का आह्वान गरी रंगशाला निर्माण कार्य अघि बढाएको थियो । माघ पहिलो साता नै रंगशालाको काम सकेर निर्माण कम्पनीले पालिकालाई हस्तान्तरण गरिसकेको छ ।
यसअघि प्यारापिटसहित मैदान अभावमा पहिलोदेखि छैटौं संस्करणसम्म उक्त गाउँपालिकाको–८ स्थित जनता माविको मैदानमा प्रतियोगिता गरिरहेको थियो । आयोजनाको निर्माण हेटौंडा उपमहानगरपालिका–५ को सञ्जय निर्माण सेवाले गरेको थियो । उक्त निर्माण कम्पनीले भेरियसनसहित ३ करोड ६० लाख ८८ हजार रुपैयाँमा काम सम्पन्न गरेको पालिकाका सव–इन्जिनियर गौरीशंकर ठाकुरले बताए ।
गाउँपालिका र निर्माण व्यवसायीबीच २०८० माघ ४ गते सम्झौता भएको थियो । आयोजनाको निर्माण कार्य माघ ३ गतेसम्म सम्पन्न गरिसक्नुपर्ने सम्झौता थियो । ‘तोकिएकै समयावधिमा रंगशालाको निर्माण कार्य सम्पन्न भएको छ,’ ठाकुरले भने । निर्माण सम्पन्न भएपछि रंगशालामा दुबो हाल्ने र घेराबारका कार्य पनि सकिएको छ ।
‘फागुन ३ देखि बागमती गोल्डकप फुटबल प्रतियोगिता यही रंगशालामै गर्नेछौं,’ गाउँपालिका अध्यक्ष सर्केश घलानले भने, ‘उक्त प्रतियोगितामा ७ ए डिभिजन क्लब र तीन मोफसलका गरी १० टिमको सहभागिता रहनेछ ।’ उक्त प्रतियोगिताको उद्घाटन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने कार्यक्रम छ । विजेता टिमको पुरस्कार राशि १० लाख रुपैयाँ रहेको छ ।
२२ हजार ९ सय २५ वर्गमिटर क्षेत्रफलमा निर्माणाधीन रंगशालाको उत्तर–पश्चिम दिशामा ६२ मिटर लम्बाइ र १२।५ मिटर चौडाइको प्यारापिट निर्माण गरिएको छ । प्यारापिट करिब २ हजार ५ सय दर्शक अटाउने क्षमताको छ । रंगशालामा फेन्सिङ वायरसहित घेराबार, चेन्जिङ रुम, शौचालयको निर्माण पनि गरिएको छ ।
‘यो रंगशाला निर्माण गर्न गाउँपालिकाले मात्र लगानी गरेको छैन, स्थानीयले झन्डै १० लाख रुपैयाँभन्दा बढीको श्रमदान गरेका छन् । गाउँपालिकाले खेलकुद क्षेत्रमा विगत वर्षदेखि नै लगानी गर्दै आएको छ । ९ वडामा विभाजित उक्त गाउँपालिकाका सबै वडामा खेलकुद मैदान निर्माण गरिएको छ ।
पालिकाले चालु आवमा खेलकुदको पूर्वाधार निर्माण गर्न र प्रतियोगिता सञ्चालन गर्न २ करोड रुपैयाँ बजेट विनियोजित गरेको छ । मकवानपुरमा रहेका ८ गाउँपालिकामध्ये खेलकुदनिम्ति बढी लगानी गर्ने बागमती हो ।