सहिद स्मारकमा एक साँझ

वर्तमान हेटौँडेली पहिचानको एक विशिष्ट अंग बनेको सहिद स्मारकमा पहिलोपटक सन्ध्यारमण गर्ने मौका आउन लागेकोमा उत्साहित थिएँ । स्मारकको शिलान्यासदेखि अझ सहिद स्मारक भनेर चिनाउने मूल जुन पवित्र पत्थर बनेको छ, त्यस पत्थरले सरस्वतीटोलको सरस्वती खोलाबाट मुक्ति पाउँदै गर्दाको साक्षी रहेको हुनाले यससित मेरो आफ्नै आत्मीय सम्बन्ध पनि रहेको छ । यति हुँदाहुँदै पनि यो दशकौँ पुरानो सम्बन्धलाई रात्रीकालीन आँखाले नियाल्न सकेको थिइनँ । मौका पाएको पनि थिइनँ भनूँ रात्री हेर्दा कस्तो लाग्छ भन्नेतर्फ विचार पनि गरेको थिइनँ ।
जब नवसर्जक साहित्य चौतारी नेपालका परिकल्पनाकार दीपक गौतमले नवसर्जककै दुई दिवसीय केन्द्रीय कार्यक्रम हेटौँडामा हुने र पहिलो दिनको साँझ स्मारकमा अवलोकन गर्ने भन्ने जानकारी पाएँ तब म आफूलाई एक किसिमले बिना सोचविचार तयार पारेंँ । मेरो लागि पनि यो एउटा मौका हो । पहिले कहिल्यै विचार नगरिएको तर दीपकले यस विचारको दीपक बालेपछि भने कम्तीमा सन्ध्यारमण गर्ने अवसरलाई फलिभूत पार्नुपर्छ भन्ने लाग्यो । अलिकति पहिल्यै जानकारी भएपछि समय व्यवस्थापन गर्न सजिलो हुन्छ । हुन त आजभोलि हरेक शनिवार कुनै न कुनै साहित्यिक तथा भाषिक गतिविधिमा औपचारिक अनौपचारिक रुपमा सहभागी हुनुपर्छ नै । अनि स्मारकको सन्ध्यारमण शुक्रवार ९ फागुनमा राखिएको छ भने भोलिपल्ट शनिवार पनि दिनभरिको कार्यक्रम रहेको छ । शुक्रवार राति बस्ने अनि शनिवार दिनभर कार्यक्रममा व्यस्त रही साँझतिर घर फर्किने विचार गरी सोहीअनुसार आफूलाई तयार पार्दै लगें ।
निर्धारित तिथिमा म र किशुन सर एक साथ पुग्यौँ । भुटनदेवी माविमा कार्यक्रम राखिएको थियो । हामी त्यहाँ पुग्दा स्मारक जानलाई बस तम्तयार थियो । एकैछिनमा हामी निस्कन्छौँ निर्धारित समयभन्दा आधा घन्टा ढिलो त भएका छौँ तर यसलाई खासै ढिलो मानिँदैन । सन्ध्या हुुनु भनेको सूर्यास्त हुनु पनि हो । सूर्यास्त हुन अझै केही समय बाँकी छ । अलिक बेर बस रोकिन्छ पेट्रोल पम्पमा, मानौँ सूर्योदय पर्खिरहेको छ । हामी स्मारक पुग्दा सूर्य अस्ताचलमा पुग्न हात हल्लाइरहेको थियो ।
अँध्यारोले धरणीलाई छोएर प्रणाम गर्दै गर्दा झिलिमिली बत्तीहरुको मुस्कुराहट देखिन्थ्यो । प्राकृतिक उज्यालोको बिदाइमा मुख अँध्यारो हुनु र कृत्रिम उज्यालोले मुख उज्यालो पार्नु स्वाभाविक हो । यस अवस्थामा यहाँको दृश्य जे जति देखिन्छ, त्यो चाहिँ मेरो लागि अभूतपूर्व हुन्छ । किशुन सर पनि मख्ख पर्नुहुन्छ ।
सन्ध्यारमणको कार्यक्रमपछि अन्तरक्रिया थियो । नजिकै रहेको स्मारकको एउटा भवनमा पस्यौँ । बागमती प्रदेशका प्रथम मुख्यमन्त्री तथा सहिद स्मारक विकास समितिका अध्यक्ष माननीय डोरमणि पौडेलबाट सुन्यौँ स्मारक निर्माणको इतिहास र कथा । हामी साहित्यकारहरु हौँ । अन्तरक्रियामा सम्भवतः सात प्रदेशबाटै सहभागी छौँ । अन्तरक्रियामा पहिले माननीयज्यूले बोलेपछि मनमा उठेका जिज्ञासालाई जवाफ दिने कार्यक्रम पनि निकै उत्साहप्रद रह्यो । मैले पनि स्मारकबारे धेरै जानकारी प्राप्त गरेंँ ।
स्मारकको कारणले करिब दुई सयले प्रत्यक्ष र परोक्ष रोजगारी पाएका छन् । वार्षिक चारदेखि पाँच लाखसम्म मानिसहरु स्मारक घुम्न आउँछन् । स्थानीयवासी तथा अफिसियलले भ्रमण गर्दा टिकट किन्नु पर्दैन । स्मारक आफैँमा अहिले चलिरहेको छ । कतैबाट खासै सहयोग प्राप्त नभए पनि निरन्तर निर्माणहरु भइरहेका छन् । अहिले निर्माण भइरहेको जातीय संग्रहालय ठुलो परियोजना हो । स्मारक विकास समितिले प्राप्त गरेको जमिन अब करिब सकिन लागेको हो । अहिले विस्तार भइसकेको क्षेत्रभन्दा अब विस्तार हुनलाई स्मारकसित खासै जमिन छैन ।
साहित्यकारहरुसितको अन्तरक्रियामा साहित्यिक कुरो हुनु स्वाभाविक हो । साहित्यकारहरुले कम्तीमा एक जना साहित्यकारको सालिक खोज्दछन् । साहित्यकारहरुको कुरो पनि लायक नै लाग्छ ।
जसरी स्मारक परिसरभित्र एउटा पर्यटन सूचना केन्द्र छ, त्यसरी बाहिर पनि एउटा सानो सभा हलसहितको घर छ जसमा पुस्तकालयजस्तो पनि बनाइएको छ । मुख्य रुपमा स्मारकसम्बन्धी जानकारी रहेको उक्त घर आफैँमा प्रेरणाप्रद पनि लाग्दछ भित्र पसेपछि । अनेक पुस्तकहरु यसरी देखिन्छन्, मानूँ रात्रीमा पनि जागा छन् ।
अन्तरक्रियामा सहभागीहरुलाई एउटा सुन्दर सूचना पनि आउँछ । हेटौँडा ४ का वडाध्यक्ष नवीन सिग्देल घोषणा गर्दछन् – अहिले यस अन्तरक्रियामा उपस्थित सम्पूर्ण नवसर्जक साहित्यकारहरु जो विभिन्न प्रदेशबाट आएका छन्, तिनीहरुले अहिले सुनेको र अवलोकन गरेको आधारमा राम्रो कविता लेख्नुपर्नेछ । उत्कृष्ट तिन कवितालाई पुरस्कृत गरिनेछ । साथमा उत्कृष्ट कविताले अन्य धेरै सुविधाहरु पनि प्राप्त गर्नेछन् । यस घोषणाले नवीनजीको नवीन दृष्टिकोण मात्र सार्वजनिक हुँदैन, साहित्य र स्मारकको भविष्यबारे योजनाको पनि उद्घाटन हुन्छ । साहित्यकारहरु भावनाका पुजारी हुन्छन्, स्वाभाविक हो सबैको मन हर्षित हुन्छ ।
अब समयले ढिलो भइसकेको बताइरहेको हुन्छ । देशको विभिन्न भागबाट आएकाहरु लाभान्वित भइरहेका अन्य पक्षसमेत रहेका छन् । जसरी स्मारक परिसरभित्र एउटा पर्यटन सूचना केन्द्र छ, त्यसरी बाहिर पनि एउटा सानो सभा हलसहितको घर छ जसमा पुस्तकालयजस्तो पनि बनाइएको छ । मुख्य रुपमा स्मारकसम्बन्धी जानकारी रहेको उक्त घर आफैँमा प्रेरणाप्रद पनि लाग्दछ भित्र पसेपछि । अनेक पुस्तकहरु यसरी देखिन्छन्, मानूँ रात्रीमा पनि जागा छन् । नदिदाएका पुस्तकहरुले हामीलाई हेरिरहेका छन् । वडाध्यक्ष नवीनजीले केहीको हातमा थमाउँछन् – सहिद स्मारक दर्पण । यसको प्रकाशन गरेको छ सहिद स्मारक विकास समिति नवलपुर, हेटौँडा–११ले । म पनि माग्छु । धेरै वर्षपछि उहाँसित किताब लिँदै गर्दाको एउटा फोटो खिचाउँछु । कम्तीमा एक चौथाई शताब्दीदेखि हाम्रो परिचय छ ।
पुस्तक हातमा पर्नासाथ मन गर्वले भरिन्छ । साँच्चिकै म जहाँ जाँदा पनि खोज्ने भनेको त्यहाँको प्रसिद्ध ठाउँ वा उक्त ठाउँकै बारेमा जानकारीमूलक पुस्तक । पुस्तक अहिले प्राप्त भएको छ । प्रकाशन वर्ष २०७६ लेखिएको छ । कभर पृष्ठमा ‘सहिद स्मारकको रजत जयन्ती अवसरमा प्रकाशित’ लेखिएको छ । यसैले पनि यो महत्वपूर्ण छ ।
बाहिर सामान्य घुमफिर र फोटो खिचाउने काम पनि हुन्छ । आदरणीय डिएम (डोरमणि पौडेल) सर साहित्यकारहरुलाई निकै समय दिइरहनु भएको छ । यत्ति धेरै समय उहाँको कदका राजनीतिकर्मीले मूलतः साहित्यकारलाई कमै दिएको देखिन्छ । देशभरका नवसर्जकहरुले डिएम सरसित फोटो खिचाउन पाउनु आफैँमा सौभाग्य मान्दछन् ।
करिब आठ बज्न लागेको छ । अब निस्कनुपर्छ । स्मारकको भीड अब विस्तारै कम हुँदैछ । कम मात्र हुँदैछ, भीड छँदैछ । सन्ध्याकालीन दृश्य हेर्न पनि विभिन्न ठाउँबाट मानिसहरु आउँदा रहेछन् । हामी बसमा बसेर फिर्ती यात्रा थाल्दै गर्दा अझै पनि दर्जनभर सबारी साधन छन् त्यहाँ । ओरालो झर्न लाग्दा स्मारकको उचाई अझ बढिरहेको लाग्छ मन र मस्तिष्कमा । फर्केर हेर्छु – अभिवादनको उज्यालो मुहार स्पष्ट देखिन्छ ।